राजनीति

फलदायी र उपलब्धीमुलक कुराकानी भएको छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा फलदायी र उपलब्धीमुलक कुराकानी भएको बताएका छन्। आइतबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँगको भेटपछि संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो धारणा राखेका हुन्।

उनले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी गरेको बताए।  दाहालले कार्यालय व्यवस्थापनको बारेमा बुझ्दा आफू उत्साहीत भएको पनि बताए। यसले दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि सम्बन्धलाई बिस्तार गर्ने कुरामा सहमति भएको उनले बताए।

‘म भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धीमुलक कुराकानी भइरहेको छ ’, उनले भने, ‘संसारको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रूपमा स्थापित भारतीय जनता पार्टीको अध्यक्ष जेपी नड्डाजीसँग कुरा भयो।’

अध्यक्ष दाहालले भाजपा र नेकपा माओवादीले दुई देश र पार्टी बीचको सम्बन्ध बिस्तारका लागि मिलेर नेपाल र भारतमा संयुक्त रुपमा कार्यक्रम गर्ने समझदारी भएको पनि बताए।  अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने भनिएपनि अहिलेसम्म समय र कार्यसूची निश्चित भइसकेको छैन। अध्यक्ष दाहाल तीन दिने भारत भ्रमण सकेर आज नै नेपाल फर्किने कार्यक्रम छ। 

प्रकाशित: १ श्रावण २०७९ ०९:३८ आइतबार