राजनीति

परमादेशी सरकारको एउटै विकल्प बहिर्गमनः भैरवसुन्दर श्रेष्ठ

राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले वर्तमान सरकारको तत्काल बहिर्गमन आवश्यक रहेको बताएका छन्। बिहीबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन्।

उनले वर्तमान गठबन्धन सरकार जति धेरै बस्यो त्यति धेरै समस्या जनताले भोग्नुपर्ने जिकिर गरे। सांसद श्रेष्ठले मुलुकको आर्थिक परिसूचहहरुले नै वर्तमान गठबन्धन सरकार कुन बाटोमा हिँडेको भन्ने थाहा पाउन सकिने बताए। उनले पछिल्लो एक वर्षमा अर्थतन्त्र, व्यापार घाटा, विदेशी मुद्रा सञ्चिति र मूल्यवृद्धि जस्ता सूचक नकारात्मक रहेको भन्दै यही गतिमा मुलुक अगाडि बढे असफल राष्ट्र बन्नसक्ने बताए।

उनले भने,‘यो परमादेशी सरकारबाट धेरै कुराको आशा गर्न सकिँदैन। यसको एउटै मात्रै विकल्प भनेको गठबन्धन सरकारको बहिर्गमन हो। जति दिन गठबन्धन सरकार नेपालमा रहन्छ। त्यति नै समस्या, त्यति नै राज्य र जनताले ठूला-ठूला समस्या व्यहोर्नुपर्ने छ। वर्तमान आर्थिक परिसूचकहरुले वर्तमान सरकार कुन बाटोमा गइरहेको छ भन्ने कुरा देखाउँछ। मैले बनाएर भनेको कुरा होइनन्। हरेक आर्थिक सूचकले नेपाल पनि श्रीलंकाको जस्तो अवस्थामा उन्मुख भएको छ। यो अवधिमा अघिल्लो सरकार हुँदा मूल्यवृद्धि ३.६ प्रतिशत रहेको थियो। अहिले त्यो मूल्यवृद्धि ८.६ प्रतिशत भएको छ।'

उनले क्रमश थप्दै भने ‘व्यापार घाटा, विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले यही अवस्थामा मुलुक अगाडि बढ्दा असफल राष्ट्र बन्नसक्छ। अघिल्लो सरकारले विभिन्न संवैधानिक आयोगहरु रिक्त रहेको अवस्थामा संवैधानिक परिषद्को बैठक बोलाउँदा सभामुख, प्रमुख प्रतिपक्ष दलको नेता बैठकमा नगएपछि सरकारले बाध्य भएर संवैधानिक परिषद्को कानून अध्यादेशमार्फत ल्याएको थियो। अघिल्लो सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने गरिएको थियो। गठबन्धनको सरकार गठन भएको एक वर्षसम्म पनि प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिएको छैन।’

सांसद श्रेष्ठले सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको संवैधानिक परिषद् विधेयक सिद्ध गर्नको लागि राष्ट्रिय सभामा पेस गर्न लागेको आरोप लगाए। उनले सरकार गठन भएको एक वर्षसम्म पनि प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पती सार्वजनिक नहुनु उचित नभएको बताए।

प्रकाशित: ३० असार २०७९ ०७:१७ बिहीबार

राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठ