राजनीति

जसपामा नेता तानातान

जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेका बेला कतै नखुलेका नेताहरू दुवै पक्षको तानातानमा परेका छन्। दुवै पक्षको केन्द्रीय समितिको अलगअलग बैठक बसिरहेको छ। संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाई छलफल गरिरहेका छन्।

कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक बुधबारदेखि वीरगन्जमा सुरु भएको छ। दुवै पक्षले आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य सहभागी भएको दाबी गरेको छ। तर केही नेता दुवै पक्षको बैठकमा सहभागी भएका छैनन्। राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरीलगायत नेताहरू दुवै पक्षको बैठकमा सहभागी भएका छैनन्। यसअघि यी तीन नेता डा. भट्टराई पक्षसँग नजिक मानिएका थिए। तटस्थ बसेका नेताहरूलाई दुवै पक्षले आफूनिकट बनाउन प्रयास गरिरहेको छ। आफ्नो पक्षको प्रभाव बलियो देखाउन तटस्थ बसेका नेताहरूलाई दुवै पक्षले तानातान गरिरहेका छन्।

जसपामा केन्द्रीय सदस्यहरूको संख्या ४८७ छ। वीरगन्ज बैठकमा २८० केन्द्रीय सदस्य उपस्थित भएको जसपाका कार्यकारिणी समितिका सदस्य मनीष सुमनले बताए। ‘हाम्रो बैठकमा २८० भन्दा बढी केन्द्रीय सदस्यहरूको उपस्थिति छ,’ सुमनले भने, ‘यो भनेको बहुमतभन्दा पनि बढी संख्या हो।’ काठमाडांैमा बोलाइएको बैठक पार्टीको आधिकारिक बैठक नभएको उनको भनाइ छ। ‘पार्टीको आधिकारिक बैठकमा सहभागी नभई पार्टीलाई अहित गर्नेगरी काठमाडौंमा बोलाइएको बैठकमा सहभागी हुने केन्द्रीय सदस्यहरूमाथि कारबाही हुन सक्छ,’ उनले भने।

यता कार्यकारिणी समिति सदस्य तथा भट्टराईनिकट नेता रमेश यादवले काठमाडौंको बैठकमा २३० केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको दाबी गरे। ‘काठमाडांैमा बसेको बैठक पार्टीको आधिकारिक बैठक हो। यस बैठकमा २३० जना केन्द्रीय सदस्यको उपस्थिति छ,’ यादवले भने, ‘यो भनेको हामीसँग प्रस्ट बहुमत छ भनी पुष्टि हुन्छ।’ आफूहरूको पक्षमा थप केन्द्रीय सदस्य खुल्दै जाने उनले दाबी गरे।

भट्टराई पक्षले बोलाएको बैठकमा महेन्द्र यादव, डम्मर खतिवडा, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंहलगायत केन्द्रीय तहका नेताहरूको सक्रियता रहेको छ। स्थानीय तहको चुनावसम्म भट्टराईलाई सक्रिय साथ दिएका केही नेताहरू अहिले काठमाडौंको बैठकमा उपस्थिति भएका छैनन्। इस्तियाक राई, प्रदीप यादवले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन्। यी दुई नेतालाई कार्यकारिणी अध्यक्ष यादवले मन्त्री बनाएका छन्। स्थानीय तहको चुनावपछि जसपा फुटको नजिक पुगेको छ।

प्रकाशित: ३० असार २०७९ ०१:३३ बिहीबार

जनता समाजवादी पार्टी