राजनीति

लिउसँगको भेटपछि नेपालले भनेः सम्बन्धलाई कसरी अझै बलियो बनाउने भन्ने कुरा भयाे

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ। 

मंगलबार अपरान्ह अध्यक्ष नेपाल र लिउबीच कठमाडौंको एक होटलमा भेट भएको हो। भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताए। उनले चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगका बारेमा कुरा राखेको र आफूले कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको बताए। 

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट र चीनको कम्युनिष्ट जनवर्गिय संगठनका बारेमा पनि कुरा भएको बताए। उनले चीनसँग नेपालको कुनै समस्या नभएको कुरा राखेको भन्दै अझै चीन र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाएर लैजाने कुरा राखेको बताए। अध्यक्ष नेपालले चिनियाँ पक्षले नेपाल र चीन बीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीहरुसँगको सम्बन्धलाई बलियो बनाउन चाहेको कुरा राखेको उल्लेख गरे। लिउले आफू विदेश विभाग प्रमुख भएपछि पहिलो प्राथमिकता नेपाललाई दिएको कुरा राखेको भन्दै अध्यक्ष नेपालले दिव्पक्ष बीचको भेटवार्ता फलदायी भएको बताए।

अध्यक्ष नेपालले दुई देशबीचको सम्बन्धलाई बलियो बनाएर लैजाने कुरामा दुवै पक्षले कुरा राखेको उल्लेख गर्दै नेपालका कम्युनिष्टहरु एकतावद्ध भएर अघि बढे राम्रो रहेको कुरा प्रमुख लिउले राखेको बताए। उनले चिनियाँ पक्षले राखेको सुरक्षा चासोको बारेमा स्पष्ट गर्ने काम भएको बताए।

गत आइतबार ४ दिने नेपाल भ्रमणमा आएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेका छन्। विदेश विभाग प्रमुख लिउ बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र भोलि बेलुका नै स्वदेश फर्किने कार्यतालिका छ।

प्रकाशित: २८ असार २०७९ १२:५६ मंगलबार