राजनीति

जसपा विवाद उत्कर्षमा: यादव र भट्टराईको छुट्टाछुट्टै बैठक

वीरगन्जमा हुने जसपा केन्द्रीय समितिको विस्तारिक बैठकमा सहभागी हुन आएका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सीमरा विमानस्थलमा स्वागत गर्दै नेताहरु। तस्विरःनागरिक

विभाजनको संघारमा पुगेर मन्त्री फेरबदलका कारण जोगिएको जनता समाजवादी पार्टी (जसपा)को विवाद मत्थर हुनुको साटो अझ उत्कर्षमा पुगेको छ। उपेन्द्र यादव पक्षले केन्द्रीय समितिको विस्तारित बैठक वीरगन्जमा गर्दै छन् भने बाबुराम भट्टराई पक्षले काठमाडौंमा गरेर पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको सन्देश दिएको छ।

उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ। भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने जसपाका केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए। अधिकारीका अनुसार केहि गैर राजनीतिक चरित्र भएका अराजक व्यक्तिहरुले जसपाको केन्द्रीय समितिको बैठक सम्बन्धमा भ्रमात्मक प्रचार गरिरकेका छन्।

आफ्नो नाममा किर्ते हस्ताक्षर गरी वीरगन्जमा हुने केन्द्रीय समितिको बैठकलाई काठमाडौंमा हुने भनी झुठा, गलत, र भ्रमात्मक प्रचार गरिएको केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका अधिकारीले बताए। उनले भने‘असार २८ र २९ गते काठमाडौंमा बस्ने भनिएको केन्द्रीय समितिको विस्तारिक बैठक वैधानिक एवं आधिकारिक बैठक होइन, षड्यन्त्र हो।’ पार्टीको वैधानिक र आधिकारिक केन्द्रीय समितिको बैठक असार २९ र ३० गते  वीरगन्जमा हुँदैछ, उनले भने।  

भट्टराई पक्षले मंगलबारदेखि काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक सुरु गरेको छ। बैठक दुई दिनसम्म चल्ने बताइएको छ।  

जसपा भट्टराई पक्षका नेता महिन्द्र राय यादवले भने,‘जसपाभित्र आन्तरिक लोकतन्त्र बहाली गराउन खोज्दा आफूहरुलाई नेतृत्वले एक्ल्यायो। हामीलाई जानकारी नै नगराई वीरगन्जमा बैठक डाकिनु अनुचित भएको उनले बताए।

वीरगन्जमा बोलाइएको जसपा केन्द्रीय समितिको विस्तारित बैठकमा सहभागी हुन जसपा अध्यक्ष उपेन्द्र यादव मंगलबार विहान सिमरा विमानस्थलमा ओर्लिँदा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वनमन्त्री प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले भब्य स्वागत गरेका थिए।

जसपाको विस्तारित केन्द्रीय समितिको बैठक बुधबारदेखि वीरगन्जको टाउन हलमा हुँदै छ। यो वैठक वैधानिक भएकोले जसपाका केन्द्रीय सदस्य एवं कार्यकारिणी सदस्यहरुको सहभागीता हुनेमा ढुक्क छौं, कार्यकारिणी सदस्य प्रकाश अधिकारीले भने। वीरगन्जको बैठक बाहेकको कुनैपनि बैठक आधिकारिक र वैधानिक होइनन्, उनले भने।

भट्टराई पक्षको बैठकमा जसपा नेता महिन्द्रराय यादव सहभागी छन्। तत्कालीन राजपाबाट पार्टी एकीकरण गरेपछि एक भएका यादव महन्थ ठाकुर नेतृत्वमा लोसपा विभाजन हुँदा उपेन्द्र यादवलाई साथ दिएका थिए। त्यसपछि उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा कृषिमन्त्री बनेका थिए। अहिले पार्टीभित्रको अन्तरविरोध चर्केर विभाजनको डिलमा पुगेपछि यादव भट्टराईसँगै उभिएका छन्। भट्टराईसँग यादवसहित गंगानारायण श्रेष्ठ, रमेश यादव र हिसिला यमी सहभागी रकेको बताइएको छ।

अध्यक्ष उपेन्द्र यादवसँग अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु वीरगन्जको बैठकमा सहभागी हुने बताइएको छ। कार्यकारिणी र केन्द्रीय समितिका केहि सदस्य बाहेक सबै जना वीरगन्जको बैठकमा सहभागी हुने यादव पक्षको दावी छ।

उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच २०७६ साल बैशाख २३ गते एकता भएर ‘समाजवादी पार्टी’ बनेको थियो। नामकरण गरिएको थियो।

त्यसपछि, २०७७ साल बैशाख १० गते राष्ट्रिय जनता पार्टीसँग(राजपा) समाजवादी पार्टीको एकीकरण भई ‘जनता समाजवादी पार्टी’ बनेको थियो।

प्रकाशित: २८ असार २०७९ ०९:४३ मंगलबार