राजनीति

सरकार निष्प्राण भइसक्योः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनको सरकार निष्प्राण भइसकेको बताएका छन्। सोमबार सम्पादकहरूसँगको अन्तक्र्रियामा ओलीले निष्प्राण बनिसकेको सरकारले समाजमा हैजा फैलाउने बताए। अहिलेको सरकारलाई बोकेर हिँडिरहे समाज दुर्गन्धित हुने उनको भनाइ थियो। ‘यो सरकार बोकेर हिँड्नुको अर्थ छैन। निष्प्राण सरकार बोक्नु भनेको समाजलाई दुर्गन्धित बनाउनु हो। यसले हैजा फैलाउँछ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘अब सतीदेवीको जस्तै अंग झर्दै जान्छ। अस्ति एउटा अंग झ¥यो। यसको अंग झरेको ठाउँमा कुनै पीठ बन्दैन। त्यसैले यो परमादेशी सरकारको कुनै अर्थ छैन।’

उनले एमालेले चाहेको खण्डमा यसअघि नै अहिलेको सत्तारूढ गठबन्धन टुटिसकेको हुने बताए। उनले अहिलेको अवस्थामा कस्तो गठबन्धन गर्ने, के गर्ने भन्नेबारे सोच्नुपर्नेसमेत बताए। अहिलेको सरकारबाट गठबन्धन कति फलदायी हुने रहेछ भनेर  बुझ्न सकिने ओलीले बताए। उनले सरकारमा पुग्नु मात्र आफूहरूको उद्देश्य नभएको स्पष्ट पारे। ‘गठबन्धन जस्तो र जसरी पनि बनाए हुन्छ भनेर एमालेले ठान्थ्यो भने यो गठबन्धन उहिल्यै टुटिसक्थ्यो र अर्को बनिसक्थ्यो,’ ओलीले भने, ‘नेकपा एमालेका लागि गठबन्धनको हेराफेरी, सरकारको हेराफेरी आफ्नो भूमिकाका लागि होइन, देशमा रहेको कुशासनको ठाउँमा सुशासन ल्याउन सकिन्छ कि सकिँदैन भन्नेमा हो।’  

सरकार परिवर्तन मात्र भन्दा पनि परिस्थितिमा परिवर्तन ल्याउने कुरा मुख्य भएको ओलीले बताए। ‘गठबन्धनका लागि गठबन्धन अथवा संख्यात्मक परिवर्तन ल्याउन सकिन्छ र सरकार परिवर्तन ल्याउन सकिन्छ भन्ने होइन, परिस्थितिमा परिवर्तन ल्याउनु मुख्य कुरा हो,’ ओलीले भने, ‘हामीले पायौं भन्दैमा तीन माना चुक खाएर बिरामी हुने अहिलेको गठबन्धनजस्तो होइन, त्यसकारण विचार गरेर मात्र चल्छौं।’

एमालेका पनि केही कमीकमजोरी हुन सक्ने बताउँदै उनले मुलुकमा अहिलेको संकटपूर्ण अवस्था आउनुमा वर्तमान गठबन्धनको कमजोरी धेरै रहेको बताए। ओलीले ठुलो पार्टीको अध्यक्षको हैसियतले आफ्नो पनि कमजोरी रहेको स्वीकार गरे। ‘दलहरूप्रतिको आकर्षणमा न्यूनता आउने कुरा भएको छ तर देशको सबैभन्दा ठुलो पार्टीको अध्यक्षको हैसियतले मेरो पनि कमजोरी छैन भन्न सकिँदैन,’ ओलीले भने, ‘हिजो आफ्नै पार्टी जोगाउन सकिएन, जुन षड्यन्त्रका कारण त्यसो भए पनि पार्टी विभाजन भयो। त्यस्तो अवस्था हाम्रा तर्फबाट कुनै कमीकमजोरी छैन भन्न मिल्दैन।’ उनले गठबन्धनका दलहरूका कारण पनि यस्तो समस्या आएको बताए। पार्टी फुटाएर जानेहरूलाई आफूले सम्झाउन नसकेको पनि उनले बताए। ‘उनीहरूलाई सम्झाउन सकिएन। भ्रम तोड्न सकिएन। उनीहरूलाई गठबन्धन गलत तरिकाबाट बनाउनबाट रोक्न सकेनौं,’ उनले भने।

ओलीले सत्ता गठबन्धनले नै एमसिसीको विरोध गरेको र उनीहरूले नै अनुमोदन गरेको पनि बताए। उनले एसपिपीबारे आफूले कुनै स्वीकृति वा हस्ताक्षर नगरेको पनि जिकिर गरे। एसपिपीबारे अमेरिकालाई लेखेको पत्र हातले लेखेको भए पनि आफूलाई जानकारी नभएको र सोझै सेनाले पत्र लेख्नु गलत भएको स्पष्ट पार्दै ओलीले आफूले थाहा पाएको भए त्यसरी पत्र लेख्न स्वीकृति नै नदिने बताए। ‘त्यतिबेलाका प्रधानसेनापति यही धर्तीमा हुनुहुन्छ। फोन गर्नुस् न। एउटा बोल्न नहुने मान्छे बेमौसममा राजनीतिक नेता पल्टिएर बोलेको थाहा पाइयो। अहिले ती आयोगका सदस्य रहेछन्। उनले त्यतिबेला म सचिव थिएँ, मैले केपी ओलीलाई ब्रिफिङ गरेको थिएँ भनेर भने,’ ओलीले भने, ‘न म रक्षा मन्त्रालय गएँ न उनी मलाई भेट्न नै आएँ। फूल लिएर स्वागतमा उभिएका थिए होलान्।’

यसैगरी ओलीले वनको क्षति नगरी निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने बताएका छन्। वनको क्षति नगरी हाल विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रको दक्षिणतर्फ टाँगिया बस्ती हटाएर २ हजार मिटर क्षेत्रफलमा विमानस्थल बनाउन सकिने उनको धारणा छ। ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, वनको क्षति नगरीकन नजिकको टाँगिया बस्ती हटाउँदा र दक्षिणपट्टि बनाउँदाखेरि दुई हजार स्क्वायर मिटरमा बनाउँदा पुग्ने ठाउँमा ८ हजार मिटर लिनुपर्ने आवश्यकता पर्दैन,’ उनले भने।

विमानस्थल निर्माण गर्दा सरकारले अनावश्यक क्षेत्रफल लिन, अनावश्यक ढंगले वन विनाश गर्न र वातावरणमा जानीजानी दुष्प्रभाव पार्न नहुने भन्दै ओलीले अदालतले पनि विकास निर्माणमा हस्तक्षेप गर्न नहुने बताए। ‘विकास निर्माणमा अदालतले धेरै ठाउँमा अनावश्यक हस्तक्षेप गर्ने गरेको छ भन्दै अध्यक्ष ओलीले अदालतको समेत आलोचना गरे।

प्रकाशित: २८ असार २०७९ ०१:११ मंगलबार