राजनीति

कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुन्ः मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ भएको बताएका छन्।

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा आज पूर्वप्रधानमन्त्री स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताएका हुन्। भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व. भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गरेको स्मरण गर्दै सो पहल गरेकाले उनको सालिक यहाँ निर्माण गर्न लागिएको बताए।

गत स्थानीय तहको चुनावअघि नै मन्त्रिपरिषद्को निर्णयबाट सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको सालिक बनाउने निर्णय भएको थियो। सोही निर्णयानुसार मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा पार्कसहितको सालिक बनाउन लागेको हो। विकास समिति साउनदेखि खारेज हुने भए पनि त्यसको संरचना जुन निकायलाई हस्तान्तरण हुन्छ सोही निकायले निर्माण गर्ने गरी शिलान्यास गरिएको हो।

पूर्वप्रधानमन्त्रीले सुन्दरीजलमा खानेपानीको उद्घाटन गर्दै गर्दा कृष्णप्रसाद भट्टराईको नामसमेत उच्चारण नगरेकामा दुःख व्यक्त गरे। मन्त्री चौधरीले मेलम्चीको बाढीपछि बन्द भएको खानेपानीलाई पुनःसञ्चालन गरेको बताउँदै बर्खा सकिनेवित्तिकै पुनःसञ्चालनमा आउनेसमेत बताए। मेलम्चीको पानी झर्ने सुन्दरीजलमा भट्टराईको पूर्ण कदको सालिकसहित पार्क निर्माण गर्न लागेको खानेपानी मन्त्रालयका सचिव मणिलाल गेलालले बताए। 

प्रकाशित: २७ असार २०७९ १२:०४ सोमबार

खानेपानीमन्त्री उमाकान्त चौधरी पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल मन्त्रिपरिषद्