राजनीति

भट्टराईपक्षीय नेता जसपा कार्यालय जान छाडे

जनता समाजवादी पार्टी औपचारिक रूपमा पार्टीका नेताहरू नफुटे पनि स्पष्ट रूपमा दुई कित्तामा बाडिएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र भट्टराई निकट नेताहरू जसपा पार्टी कार्यालय बालकुमारी जान छाडेका छन्।

स्थानीय तहको चुनाव पछि भट्टराई पक्षीय नेताहरू बालकुमारीमा जान छाडेका हुन्। आफहरू जसपाको पार्टी कार्यालय बालकुमारीमा जान छाडेको भट्टराई पक्षीय नेता तथा कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले बताए। ‘बालकुमारीमा हामीलाई बस्ने ठाउ नै छैन। संघीय परिषद्का अध्यक्ष भट्टराई ज्युकोलागि बस्ने कोठा त छ। तर उहाँ पनि जान छाड्नु भएको छ,’ सिंहले भने, ‘पार्टीको बैठकमै हामीलाई बोलाइन्न भने हामी त्यहाँ किन जाने?,’

गत असार १३ गते कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यालय बालकुमारीमा कार्यकारिणी समितिको बैठक बोलाएका थिए। त्यस बैठकमा यादवले भट्टराई र भट्टराईपक्षीय नेताहरूलाई बोलाएका थिएनन्।

भट्टराईपक्षीय नेताहरूले यही असार २८ र २९ गते काठमाडौँमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन्। उक्त बैठकमा भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन्।आफूहरूले किन बैठक बोलाउनु पर्‍यो भन्ने विषयमा भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्न लागेको सिंहले जानकारी गराए। यता यादव पक्षीय नेताहरूले असार २८ र २९ गते काठमाडौमा बोलाइएको बैठक पार्टीको आधिकारिक बैठक नभएको भन्दै त्यस बैठकमा नजान उर्दी जारी गरेका छन्। यादव पक्षीय नेताहरूले यही असार २९ र ३० गते बिरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन्। दुवै पक्षले आफूले बोलाएको बैठक वैधानिक भएको र अर्को पक्षले बोलाएको बैठक पार्टीको आधिकारिक बैठक नभएको दाबी गरेका छन्।

भट्टराई र यादवले एक आपसमा गाली गलौज नगरी सौहार्द पूर्ण ढंगबाटै छुट्टिने सहमति गरेका छन्। पछिल्लो समय उपेन्द्र यादव पक्षले पार्टीभित्र बहुमत जुटाएको छ। मन्त्रीको लोभले भट्टराई पक्षका दुई नेता इस्तिायक राई र प्रदीप यादवले कित्ता परिवर्तन गरी यादव पक्षतिर लागेका छन्। स्थानीय तहको चुनाव अघिसम्म राई र यादव भट्टराईको कित्तामै थिए।

प्रकाशित: २७ असार २०७९ ०१:२५ सोमबार

जनता समाजवादी पार्टी