राजनीति

गठबन्धन आगामी निर्वाचनसम्मैः नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्। पाँच दलीय गठबन्धनले मुलुकलाई बिभिन्न शंकटबाट जोगाएको भन्दै उनले राष्ट्रिय आवश्यकताकै आधारमा आगामी निर्वाचन सम्म यसले निरन्तरता पाउने बताएका हुन्।  

समाजवादी प्रेस संगठन नेपाल रूपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले गठबन्धनले लोकतान्त्रिक गणतन्त्र र संविधनको रक्षा गर्दै राष्ट्र जोगाउने काम गरेकाले आगामी निर्वाचनसम्म यसले निरन्तरता पाउने बताए। संघ र प्रदेशको निर्वाचनमा गठबन्धन कायम रहने नेता नेपालले बताएका हुन्।  

उनले स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीले आफ्नै बलमा चुनाव लडेको र सफलता प्राप्त गरेको उल्लेख गरे। एक महानगर, उपमहानगरमा प्रमुखसहित विभिन्न स्थानीय तहमा उपप्रमुख जितेको भन्दै उनले धेरै तहमा अत्यधिक मत पाएको उल्लेख गरे। आगामी निर्वाचनमा थप सफलता हात पर्ने दाबी पनि नेता नेपालले गरे।  

मतदाता शिक्षामा कमी, घरदैलो, भेटघाट तथा वडा तहमै सहमतिमा विलम्ब जस्ता स्थानीय तह निर्वाचनका कमजोरी सुधारेर अगाडि बढ्ने बताए। एमाले अध्यक्ष ओलीप्रति इंगित गर्दै उनले आफूहरूलाई हैसियत नै छैन भन्नेहरूको घमण्डलाई आगामी निर्वाचनले चकनाचुर पारेर छोडने दाबी गरे। ?दच निर्वाचनका लागि वाम गठबन्धन र एमालेसँगको पार्टी एकीकरणका सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै नेता नेपालले एमालेसँग वार्ता संवादको अवस्था सिर्जना नै नभएकाले सहकार्य, एकताको गुन्जायस नै नरहेको बताए। कुनै पदका निम्ती या निर्वाचनमुखी भएर एकता गर्ने कुरामा आफूहरूको ध्यान नभएको भन्दै उनले राष्ट्रिय आवश्यकता अनुरूप यही गठबन्धनले निरन्तरता पाउने दोहोर्‍याए।

कांग्रेसको बुई चढेको आरोप लागेको भन्ने सम्बन्धमा उनले घुमाउरो पाराले आफूहरू काँग्रेसको नभई कांग्रेस आफूहरूको बुई चढेको उल्लेख गरे। ‘हाम्रो काँध बलियो रै’छ अहिले सम्म धानेकै छाैँ,’ नेता नेपालले भने। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले परराष्ट्र नीतिलाई जोगाउने कुरामा पाँच दलीय गठबन्धन सरकार गम्भीर रहेको भन्दै असंलग्न परराष्ट्र नीति अंगीकार गर्ने कुरामा कहिल्यै नचुक्ने बताए।

उनले नेपाल कहिल्यै कसैको सैन्य रणनीतिको हिस्सा बन्न नसक्ने र सो कुरामा गठबन्धन सरकार गम्भीर रहेको पनि उल्लेख गरे।

प्रकाशित: २६ असार २०७९ ०२:५५ आइतबार