राजनीति

स्वतन्त्रबाट जितेका मेयर र दलबाट जितेका उपमेयर, वडाध्यक्षबीच बढ्दै चर्काचर्की

स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेर जितेका मेयरहरु र विभिन्न राजनीतिक दलका उपमेयर र वडाध्यक्षहरुबीच चर्काचर्की बढिरहेकाे छ। स्वतन्त्रका मेयरहरु राजनीतिक दलका प्रतिनिधिहरुसँग दिनहुँ भिडिरेहका सुनिन्छन्।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल आफ्ना पालिकाभित्रका विभिन्न बैठक, छलफल र गतिविधिहरुमा राजनीतिक दलहरुको प्रतिनिधित्व गरेर जितेका उपमयेर र वडाध्यक्षसँग चर्काचर्की बहसमा उत्रिरहेका घटना सार्वजनिक भइरहेका छन्।  

पछिल्ला दिनमा यी पालिकामा यस्ता बहसहरु बढीरहेका छन्। र, केही मेयरले स्वतन्त्रबाट उठेको भनेर काम नदिने रणनीति बनाएको हो? भनेर प्रश्न गर्न थालेका छन्। आ–आफ्ना उपमेयर र वडाध्यक्षहरुले नियमित बैठकहरुमा र्‍याकर्‍याक्ति पार्न थालेपछि मेयरहरु आक्रोशित हुने क्रम बढेको छ।  

पछिल्लो पटक असार २३ गते बिहीबार धरान उपमहानगरपालिकाका स्वतन्त्र मेयर हर्क साम्पाङ अन्य राजनीतिक दलहरुबाट जितेका वडाध्यक्षहरुसँग आक्रामक रुपमा प्रस्तुत भए। बजेट पारित गर्ने काममा आफूलाई अवरोध गरेको भन्दै उनी बैठकको सुरुमै आक्रोशित भएका थिए। उनले आफू स्वतन्त्रबाट जितेको मेयर भएकाले काम गर्न नदिएको आरोप वडाध्यक्षहरुलाई लगाएका छन्। साम्पाङ आक्रोशित भएको भिडियो क्लिपहरु विभिन्न सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक भएका छन्।  

उनले बैठकको सुरुमै वडाध्यक्षहरुलाई प्रश्न गर्दै भने, ‘तपाईहरुको नियत के हो? स्वतन्त्रले जित्यो, यसलाई उ गर्नुपर्छ भन्ने हो? कि के हो? यो बजेट त तपाईहरुले नै बनाएको हो त। मैले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्या हो र? मैलै कुनै पनि कुरामा हस्तक्षेप गर्‍या छैन। आफैंले बनाएको कुरा आफैं जिम्मा नलिने भन्न मिल्छ? आफैंले जन्माएको छोरा मेरो होइन भन्दिन? के म्यासेज जान्छ?’

एकसुरमा जंगिएका साम्पाङले आफ्ना आक्रोशहरुका वाक्यहरुलाई निरन्तरता दिँदै भने, ‘के तपाईहरुको आशय पार्टीकै मेयर आउनुपर्छ भन्ने हो? धराने जनताको म्यान्डेटलाई त्यस्तो भन्न खोज्नुभएको हो? निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार मतले जितेर आएको हो म। तपाईंहरुले स्वीकार्ने कि नस्वीकार्ने? धराने जनतालाई के जवाफ दिनुहुन्छ? जहिले जहिले आएको छ, एउटा एउटा कुरा गरेको छ। हेर्नुस् यो तपाईंहरूले बनाएको बजेट हो। मैले केही गरेको छैन। कसलाई कति रूपैयाँ दिने भनेर तपाईंहरूले नै ल्याएको हो। उपमेयर कोष राख्ने नराख्ने आजै निर्णय गर्नुस्। जहिले जहिले बैठक सारेको छ। कहिले बजेट पास गर्ने? ८० सालको साउनमा पास गर्ने? बजेट पास नभए वडा कसरी चलाउनुहुन्छ? गोजीको पैसाले चलाउने? डोनेसन मागेर चलाउँ न त। मैले त मागिरहेको छु। तपाईंहरु पनि डोनेसन मागेर चलाउनुस। नत्र कसरी चलाउने त? नगरपालिका मेरो मात्रै ठेक्का हो? जनताले तपाईंहरूलाई पनि चुनेर पठाएको छ। पास भएन भने प्रमुखले जिम्मा लिनुपर्छ। यो हो तरिका हाम्रो? के भनेर आउनुभो चुनिएर? यसै गर्छु भनेर आउनुभो? यति धेरै गैरजिम्मेवार नबन्नुस्। तपाईंहरूको यो कार्यपालिकाको बैठक, नगरसभा विगतमा पनि मैले हेर्दै आएको छु। यसपालि चैं स्वतन्त्र मेयर आयो भनेर हेपेको? म को हुँ?’  

यसैबीच केही वडाध्यक्षले मेयर साम्पाङलाई समर्थन गरेका थिए भने केहीले बजेटको किताब टेबलमा ठोक्दै आक्रोश व्यक्त गरेका थिए। उनीहरुले मेयर साम्पाङलाई बजेट पारित गराउन चुनौती पनि दिइरहेका थिए।  

यसअघि काठमाडौँ महानगर र धनगढी उपमहानगरमा पनि यस्ता चर्काचर्की बहस भएपछि स्वतन्त्रका मेयरहरु आक्रोशित भएका घटनाहरु सार्वजनिक भएका थिए।  

काठमाडौँका मेयर बालेन्द्र शाह र वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालबीच पहिलो कार्यपालिका बैठकमै चर्काचर्की भएको थियो। रिजालले वडाध्यक्षहरुसँग छलफल नगरी बैठकमा एजेण्डा प्रस्तुत गरेर पास गर्ने प्रयास भएको भन्दै आक्रोश व्यक्त गरेका थिए। रिजाल र शाहबीच सम्बन्ध चिसिएपछि बालेन्द्र आफै रिजालको घर पुगेर लन्च मिटिङ गरेका थिए।  

त्यसैगरी टेकुमा थुप्रिएका फोहोर व्यवस्थापनमा चासो नदिएको भन्दै वडा नम्बर १२ का वडाध्यक्ष बालकृष्ण महर्जन र मेयर शाहबीच वादविवाद भएका थियो। यसैगरी असार ७ गते कार्यपालिका बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै गर्दा ७ नम्बर वडाध्यक्ष विमलकुमार होडाले ‘यो बैठक लाइभ किन नगर्ने?’ मेयर शाहसँग बादबिबादमा उत्रिकाएका थिए। लाइभमा मेयरको मनाेमानी भएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

यसैगरी असार २० गते धनगढी उपमहानगरपालिकाका स्वतन्त्र मेयर गोपाल हमालले एमालेकी उपमेयर नन्दकला रानाको खप्की खानु पर्‍यो। आठौं नगरसभाको तेस्रो बैठकमा दुईबीच असन्तुष्टि चुलिएपछि कुर्सी फालाफालको अवस्था आएको थियो। बैठकमा रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि बिबाद बढेको थियो।

प्रकाशित: २४ असार २०७९ ०७:४७ शुक्रबार