राजनीति

नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा श्रेष्ठ र महरा

नेकपा (माओवादी केन्द्र) ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई उपाध्यक्ष बनाएको छ।

बिहीबार काठमाडौँमा बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई चयन गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकले १५६ जनाको पोलिटब्यूरो गठन गरेको बताए।

उनले १२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए। उनले अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै राखिएको पनि स्पष्ट पारे।

उपाध्यक्ष महराले भने, ‘आज केन्द्रिय समितिको बैठक बस्यो, आजको बैठकमा सबैभन्दा पहिले अध्यक्षले राजनीतिक प्रतिवेदनमा जुन छलफल उठेको थियो, त्यसको जवाफ दिनुभयो। संगठन सम्बन्धी तीन कुरा भए। १२५ जनाको पोलिटब्यूरो भयो, वैकल्पिक हुनुहुन्छ। ४१ जनाको स्थायी कमिटी बन्यो। अहिलेलाई १५ जनाको नामावली पेस भएको छ। अहिले २ जना उपाध्यक्ष भएका छन्, नारायणकाजी र कृष्णबहादुर महरा।’

त्यस्तै पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुंगो लाग्ने बताए। नेता पोखरेलले केन्द्रिय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्यहरु चयन हुन ढिला भएको बताए।

उनले भने, ‘अहिले स्थायी समिति ४१ सदस्य हुनेभयो। पोलिट ब्यूरो १२५ र ३१ जना वैकल्पिक गरेर पोलिट ब्यूरो बनेको छ। पदाधिकारीको सन्दर्भमा केही दिनभित्रमा अहिलेका कुरालाई टुंग्याइनेछ। सबै कुरामा गृहकार्य र छलफल भएका छन्, केन्द्रिय समितिले पूर्णता पाउन ढिला भएको थियो प्राप्त भयो। विधानको आधारमा पोलिटब्यूरोहरु निर्माण गर्नुपर्ने काम थियो त्यो सबै सकेर स्वभाविक ढंगले सम्पन्न भयो। सबै छान्ने जिम्मा अध्यक्ष र पहिलेको स्थायी कमिटीका सदस्यहरुलाई अध्यक्षलाई सहयोग गर्न भनिएको छ।’

नेता पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल सबै खालका संघर्ष गरेर आएका कारण स्थापित नेतृत्व भएकोले अध्यक्षमा कतिपय कुरा केन्द्रित हुनु स्वभाविक रहेको जिकिर गरे। 

प्रकाशित: २३ असार २०७९ १३:१७ बिहीबार

नेकपा (माओवादी केन्द्र) नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरा पार्टीको केन्द्रिय कमिटीको बैठक अध्यक्ष पुष्पकमल दाहाल