राजनीति

गोपनियता भंग गरेका अर्थमन्त्रीको राजीनामा भईसक्याे, नयाँ बजेट पेस गरौं: सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गरेका छन्।।

बिहीबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएको सो बजेट खारेज गरी नयाँ ल्याउन जरुरी रहेको बताएका हुन्। सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रीपरिषदको निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कारबाही गर्न पनि सरकारलाई दवाव दिए। 

उनले भने, ‘नगरकोट र दुवाकोट सडक समयमा पुनर्निर्माण र कालोपत्रे समयमै नहुँदा स्थानीय जनता र पर्यटकहरुलाई कठिन भईरहेको छ। यी दुवै सडकको निर्माण कार्य अविलम्ब सम्पन्न गरियोस्। सार्वजनिक वन मासेर भक्तपुर बाघेश्वरीमा खानेपानीको मुहान रहेको भंगेरीडाँडामा रवि खेलमैदान बनाइएको छ। खारेज गरियोस्। मन्त्रीपरिषद्ले एसपीसी खारेज गर्ने निर्णय गरेकोलाई अध्ययन हुँदैछ भनि पत्राचार नगर्ने परराष्ट्रमन्त्रीमाथि कारबाही किन हुँदैन? गोपनियता भंग गरेका अर्थमन्त्रीको राजीनामा भईसकेको हुँदा पारित गरिएको भनिएको बजेट खारेज गरी नयाँ बजेट पेश गर्न जरुरी छ। अर्थमन्त्रीको पार्टीको गोपनियता भंग गर्ने अर्थमन्त्रीको पार्टीको अध्यक्ष र सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीलाई यसबारे जिम्मेवार बनाउन जरुरी छ। नेपाली काँग्रेसकै  नेता शेखर कोईरालाले सरकारकै कारण संस्थागत भ्रष्टाचार बढेको छ भनेकाले प्रधानमन्त्रीमाथि छानवीन हुनुपर्छ।’

उनले काँग्रेस नेता शेखर कोइराला आफैंले सरकारकै कारण संस्थागत भ्रष्टाचार बढदै गएको भनाई आएको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवामाथि छानवीन गर्नुपर्ने जिकीर समेत गरे। उनले भक्तपुरको दुवाकोटा र नगरकोट सडकको कालोपत्रे समयमै सम्पन्न गराउन पनि सरकारलाई सचेत गराए।

प्रकाशित: २३ असार २०७९ १०:१९ बिहीबार