राजनीति

राज्य व्यवस्था बैठकमा सभापति र सांसद चौधरीबीच भनाभन

नेकपा एमालेकी सांसद गंगा चौधरी र वरिष्ठताका आधारमा सभापतित्वको भूमिका निभाएका सांसद मुकुन्द न्यौपानेबीच समितिमै भनाभन भएको छ। सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा दुई जनाबीच विवाद भएको हो।

बैठकमा सभापति न्यौपानेले प्रतिनिधिसभाको बैठक रहेकोले समय घटाएर बोल्न भनेपछि सांसद चौधरीले समय नभए किन बोलाउनुभएको? भन्दै प्रश्न गरिन्। उनले भनिन, ‘संसद छ भने भोलि बैठक बोलाउनुहोस।’ उनको जवाफमा सभापति न्यौपानेले चौधरीलाई भने, ‘तपाई छोटो बोल्नुस।’

संसद चौधरी त्यसपछि अझ आक्रोशित भइन्। उनले भनिन्, 'हामीलाई किन बोलाउनु भयो त? हामीलाई संशोधन नहाल्नुस् भन्नुपथ्र्यो नि त! हाम्रो आफ्नो कुरा राख्न दिनुहुन्न? आज नभ्याए अर्को दिन बोलाउनुस न बैठक।’ सांसद चौधरीको भनाइ पछि सभापति न्यौपानेले अलि कडा शब्दमा भने, ‘एक घण्टा बोलिरहन पाए डिस्टर्ब नहुने? आफूलाई सुधार्नुस्।’

यसैबीच सांसद चौधरीले इन्स्पेक्टरसम्मको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने बताइन्।   उनले प्रदेशको अधिकारलाई केन्द्रबाट खोस्न नहुने र इन्सपेक्टरसम्मको सरुवा, बढुवाको अधिकार प्रदेशलाई दिन माग गरेकी थिइन्।

चौधरीले अहिलेसम्म प्रदेशलाई सिपाहीलाई समेत सरुवा गर्ने अधिकार नरहेको भन्दै यो कुरा संघीय संरचनाको विरुद्धमा भएको बताइन्। सांसद चौधरीले १० वर्षे जनयुद्धताका विभिन्न त्रास देखाएर जागिर छोड्न बाध्य बनाएकलाई उमेर हद ननाघिसकेका व्यक्ति हेरेर प्रदेश प्रहरी र केन्द्रीय प्रहरीमा भर्ना गर्न सुझाव दिइन्।

प्रकाशित: २० असार २०७९ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App