राजनीति

जी.पी.कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन्।

शनिबार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन्।

उनले अरु नेताहरुको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमन्यताको प्रतिक भएकोले उनको नाममा जी.पी. कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए।

मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताए। उनले जी.पी. कोइराला विश्व विद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको उद्घोष गरे।

मन्त्री बडूले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै काठमाडौँ विश्व विद्यालयको रुपमा पहिलो विश्व विद्यालय स्थापना गरेको र बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिस्पर्धा परिणाममा देखाइरहेको बताए।

मन्त्री बडूले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जी.पी. कोइराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए।

प्रकाशित: १८ असार २०७९ ०५:५२ शनिबार

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू गिरिजाप्रसाद कोइराला विश्व विद्यालय गिरिजाप्रसाद कोइराला