राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री हटाउन कांग्रेस र माओवादीद्वारा हस्ताक्षर संकलन

क्याप्शन

सत्तारुढ गठबन्धनको तर्फबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन गरेको छ। गठबन्धमा भएको सहमति बमोजिम चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने मागसहित मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन गरिएको हो। 

हाल सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै नेकपा (एस) संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री रहेका छन्। सहमति अनुसार आर्थिक वर्ष २०७८/०७९ को बजेट पास भएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने तयारी थियो। 

पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थमा मुख्यमन्त्री बनेका थिए। उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो। कांग्रेसले सहमति अनुसार मुख्यमन्त्री पाउनुपर्ने भएपनि मुख्यमन्त्री पाण्डे भने केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र नेतृत्व छोड्ने अडानमा पुगेपछि उनको विरुद्ध हस्ताक्षर संकलन गरिएको सांसदहरुले बताएका छन्। 

पूर्व सहमति बमोजिम सहजै नेतृत्व नछोडे मुख्यमन्त्रीले सहमति अनुसार सहजै सत्ता नछाड्ने माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्रीलाई फिर्ता बोलाउने तयारी भएको एक सांसदले जानकारी दिएका छन्।

प्रकाशित: १६ असार २०७९ ०९:२९ बिहीबार