राजनीति

सरकारले केरुङ-काठमाडौं रेलमार्ग निर्माण गर्न सक्दैनः विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका हुन्। उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताए। महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रश्ताव राख्नुपर्ने बताए। 

नेपाल गरिब राष्ट्र भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने बताए। उनले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ ध्यान दिनुपर्ने बताए। 

महामन्त्री शर्माले अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भएपनि रेल कहाँबाट ल्याउने र सक्छौँ, सक्दैनौँ भन्ने आधार नै नरहेको बताए। उनले एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकैपटक ४ वटामा प्रवेश गर्नु गलत भएको बताए। उनले चुनावका लागि गरिने प्रतिवद्धतामा ध्यान दिनुपर्ने भन्दै चुनाव लागेकै कारण विमानस्थल बनाउँछु भनेर गलत सूचना दिन र गर्न नसकिने प्रतिवद्धता व्यक्त गर्नु नहुने बताए।

महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा परेको बताए। डकुमेण्ट बनाउन मन्त्रीमण्डलमा बस्ने, छलफल, संवाद गर्नेहरुले दिएको गलत सूचनाका कारण पनि जनताहरु भड्किरहेकोले गलत सूचना प्रशारण गर्न नहुने बताए।

प्रकाशित: १५ असार २०७९ ०८:५९ बुधबार