राजनीति

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन्। मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले यस्तो बताएका हुन्।

उनले ४/५ महिनामा कुनैपनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताए। सदस्य शर्माले ३/४ महिनामा पालो पुर्‍याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताए।

उनले यस किसिमका पालो पुर्‍याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहीत गर्न आवश्यक रहेको बताए। सदस्य शर्माले समाजवादीले मन्त्री फेर्ने निर्णय जनतालेसमेत स्वीकार नगरेको भएपनि मन्त्री फेर्न पाउने अधिकार पार्टीलाई भएको बताए।

उनले नेकपा (माओवादी केन्द्र) मा भने मन्त्री हेरफेर सम्बन्धी कुनै छलफल नभएको बताए। केन्द्रीय सदस्य शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरु लागिपरेको स्पष्ट पारे।

प्रकाशित: १४ असार २०७९ ०९:०७ मंगलबार

नेकपा (एकीकृत समाजवादी) नेकपा (माओवादी केन्द्र) नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्मा