राजनीति

आमाको नाममा नागरिकता दिन कन्जुस्याँइ नगर्नुस्ः सांसद आले

नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कन्जुस्याँइ गर्नु नहुने बताएका छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद मगरले कुनैपनि नागरिकलाई राज्यबिहीन र नागरिकताबिहीन बनाउन नमिल्ने भन्दै आमाको नाममा नागरिकता दिन कन्जुस्याँइ गर्नु नहुने बताएका हुन्। उनले पुरुषवादी र पितृसत्तावादी समाज रहेको उल्लेख गर्दै पुरुषवादी चिन्तनकाविरुद्ध लड्नुपर्ने आवश्यकता रहेको बताए।

उनले चालु संसद अधिवेसनमा नै नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए। उनले महंगिले जनताको ढाड सेकेको भन्दै जनताले कुनै राहत नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराए। सांसद मगरले मनाङ जिल्लालाई गत वर्षको बाढीले तहसनहस बनाएकोमा हालसम्म पनि त्यहाँको स्थिति भयावह रहेकाले आवागमन सहज बनाउन सरकारसँग माग गरे।

त्यस्तै तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ४ मा बाढी पहिरोले क्षति पुर्‍याएको र जनजीवन प्रभावित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले तनहुँको भानु नगरपालिका वडा नं. ६ स्थित चुँदिबरा कुलोको बाँध, कुलो र खेतसहित बगाएकोले सरकारलाई आवश्यक कदम चाल्न आग्रह पनि गरे।

प्रकाशित: १० असार २०७९ ०९:४६ शुक्रबार

नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगर आमाको नाममा नागरिकता राष्ट्रिय सभा बैठक