राजनीति

जिल्ला समन्वय प्रमुखमा एकीकृत समाजवादी र एमालेको उम्मेदवारी

जिल्ला निर्वाचन कार्यालय उदयपुर। तस्विरः महेश्वर/नागरिक

जिल्ला समन्वय समिति उदयपुरको प्रमुखमा गठबन्धन दलहरुको तर्फबाट नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवारी दिएको छ। मंगलबार उम्मेदवारी दर्ता गर्दा एकीकृत समाजवादीसँग नेकपा (एमाले)ले प्रतिस्पर्धा गर्ने गरी मनोनयन परेको छ।  

प्रमुख निर्वाचन अधिकृतको कार्यालय उदयपुरका अनुसार गडबन्धनका तर्फबाट एकीकृत समाजबादीका गौरबहादुर विकले प्रमुखमा उम्मेदवारी दिँदा एमालेका इन्द्रराज कार्कीले प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गरेका छन्। प्रमुख पदका प्रत्यासी बिक उदयपुरगढी गाउँपालिका ७ का स्थायी बासिन्दा हुन् भने एमालेका कार्की त्रियुगा नगरपालिका ७ बाट निर्वाचित वडा सदस्य हुन्।

उपप्रमुखमा नेपाली काँग्रेसका तेजप्रसाद गिरी र एमालेकी हेमकुमारी बिकले उम्मेदवारी दर्ता गराएका छन्। गिरी ताप्ली गाउँपालिका ५ का हुन् भने एमालेकी विक कटारी नगरपालिका ५ की हुन्। समन्वय समिति सदस्यमा गठबन्धनबाट नेकपा (माआबोदी केन्द्र)का ४ जना र काँग्रेसका ३ जनाको मनोनयन दर्ता भएको छ। माओबादीबाट इन्द्रबहादुर थापा, गोमा कार्की, पदकुमार राई र बिन्दाकुमारी विक सदस्यमा उठेका छन् छ। काँग्रेसबाट भिम राई, मञ्जु परियार र विष्णु कटुवालले मनोनयन गरेका छन्।  प्रमुख, उपप्रमुख र सदस्यमा एक्लै उम्मेदवारी दिएको एमालेले ६ जना सदस्य उठाएको छ। एमालेबाट गणेश श्रेष्ठ, तेजबहादुर थापा, अर्जुन परियार, आसा परियार, नारायण राई र सर्वजित राईको उम्मेदवारी दर्ता गराएको छ।  

‘लो प्रोफाईल’का कार्यकर्ता रहेका प्रमुखका प्रत्यासी बिक उदयपुरगढी गाउँकार्यपालिका सदस्य हुन्। गाउँपालिका अध्यक्षमा मानबहादुर केप्छाकी मगरसहित ८ जना गाउँसभा सदस्य निर्वाचित भएपछि गाउँकार्यपालिका सदस्य चयनमा निर्णायक बन्न पुगेको एकीकृत समाजबादीले बिकलाई दलित कोटाबाट कार्यपालिका सदस्य मनोनित गरेको थियो। समन्वय प्रमुखको भाग पाउने छेकछन्दै नभएको एकीकृत समाजबादीलाई दुईदिनअघि मात्र यो ‘चिठ्ठा’ परेको हो।  

समन्वय प्रमुख बन्ने उदेश्यकै साथ नेपाली काँग्रेसका भिमचन्द्र राईले त्रियुगा नगरपालिका ११ बाट वडा सदस्यमा उम्मेदवारी दिएका थिए। वडा सदस्यमा कडा प्रतिस्पर्धाका साथ विजयी भएका राई पार्टी जिल्ला उपसभापतिसमेत रहेकाले समन्वय प्रमुख हुने लगभग पक्कापक्की थियो। तर, त्रियुगा नगरकार्यपालिका सदस्य चयनमा गठबन्धन दलहरुबीच कुरा नमिलेपछि उनको समन्वय प्रमुख बन्ने सपनामा तुसारापात लाग्यो।  

नगरकार्यपालिका सदस्य चयनमा एक्लै उठेको काँग्रेससँग लड्न माओबादीले एमालेसँग तालमेल गरेर जाँदा बिमल किरातीसहित ३ जना र एमालेका ४ जना विजयी भए। ८२ सदस्यीय नगरसभामा ४२ सदस्य जितेर स्पष्ट बहुमत पाएको काँग्रेसका एक मात्र सदस्य माओबादीसँग बराबरी मत पाएपछि गोलाप्रथाबाट छान्न सफल भयो। यसरी नगरकार्यपालिकामा समन्वय गर्न नसक्दा चिढिएको माओबादीका बिमल किराती र काँग्रेसका भिमचन्द्र राई एकले अर्कालाई नछाड्दा एकीकृत समाजबादीले कल्पनै नगरेको प्रमुख पद हात पारेको हो।  

काँगे्रसले भिमचन्द्र र माओबादीले बिमललाई प्रमुख बनाउन गठबन्धनको बैठक लामो समयसम्म चलेको तर, एकले अर्कालाई छाड्न राजी नभएपछि बैठकले अन्तिम निर्णय गर्ने जम्मा केन्द्रीय गठबन्धनलाई सुम्पेको थियो। सोही अनुसार केन्द्रीय गठबन्धनले एकीकृत समाजबादीलाई प्रमुख पद दिने गरी निर्णय गरेको हो। गठबन्धनको निर्णय अनुसार किराती र राई दुवैले सदस्यमा मनोनयन गरेनन्। उनीहरु दुवैले केन्द्रीय निर्णय अनुसार मतदान गर्ने सहमति जनाएको गठबन्धन दलका नेताहरुले जनाएका छन्।

प्रकाशित: ७ असार २०७९ १४:४४ मंगलबार