राजनीति

'एक, दुई दिनभित्र मै मन्त्रिपरिषद् हेरफेर हुन्छ'

नेकपा(एकीकृत समाजवादी)का सांसद जिवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्।

मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नेकपा (एकीकृत समाजवादी)को निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताए। उनले मन्त्रि परिवर्तन गर्नका लागि आ–आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्रपनि समझदारी बन्नुपर्ने बताए। उनले मन्त्रि हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन हुने बताए। 

उनले भने, ‘जुन खालको हाम्रो संसदीय प्रणाली छ। त्यो भन्दा यताउता हुने कुरा हुँदै हुदैन। दुई, चार दिन ढिला, चाँडो हुने कुरा एउटा हुनसक्छ। गठबन्धन भित्र कतिपय कुराहरुलाई एउटा समझदारी बनाउनुपर्ने पनि हुनसक्छन्। गठबन्धनमा रहेका दलहरु सबै स्वतन्त्र छन्। दलहरुले आफ्नो निर्णय गर्ने हो। त्यही अनुसार गठबन्धनको नेतृत्वले कार्यान्वयन गर्ने हो।  त्यही अनुसार नै हुन्छ। त्यसमा कुनै दुविधा मान्नुपर्ने मैले देखेको छैन। चाँडै नै हाम्रो पार्टीले गरेको निर्णय अनुसार नै प्रक्रिया अगाडि बढ्छ र हेरफेर हुन्छ। मलाई हाम्रो पार्टीको अध्यक्षले के जानकारी गराउनु भएको छ भने अब एक, दुई दिन भित्रमै हुन्छ भनेर जानकारी गराउनु भएको छ।’

सांसद श्रेष्ठले पार्टी अध्यक्ष माधवकुमार नेपालले एक, दुई दिन भित्रमा मन्त्रिपरिषद् हेरफेर हुने जानकारी आफूलाई गराएको बताए।

प्रकाशित: ७ असार २०७९ १२:३७ मंगलबार