राजनीति

आठ अर्बको भ्रष्टाचार मुद्दामा सफाइ प्रकरण: विशेषविरुद्ध अख्तियार पुनरावेदनमा जाने

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीशहरू रमेशकुमार पोखरेल र यमुना भट्टराई।

विशेष अदालतले कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख तथा पूर्ववनमन्त्री विक्रम पाण्डेलगायत २१ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनमा जाने भएको छ। आफूले अनुसन्धान गरेर मुद्दा दर्ता गरेको ठूलो भ्रष्टाचार मुद्दाले सफाइ पाए सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।  

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीशहरू रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले आरोप पुष्टि हुन नसकेको भन्दै ८ अर्बभन्दा बढी मागदाबी मुद्दामा पाण्डेसहितलाई सफाइ दिएको हो। अख्तियारले २०७५ मंसिर २१ मा पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध ८ अर्ब रुपैयाँ बढी बिगो माग दाबीसहित मुद्दा दर्ता गर्‍यो। यसअघि २०७६ माघ २ मा पाण्डेलाई विशेष अदालतले ४ करोड रुपैयाँ धरौटी माग गरी तारेखमा बस्न आदेश दियो। त्यतिबेला विशेषका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले धरौटी बुझाएर तारेखमा बस्न अनुमति दिने आदेश दिएको थियो। आरोप दाबी पुष्टि हुन नसकेको भन्दै विशेष अदालतको आदेशपछि २१ जनाले सफाइ पाएका हुन्।

अख्तियारले ठेकेदार कम्पनीका मालिक रहेका पाण्डेसहित २१ जनालाई राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मिलेमतोमा कमसल काम गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको थियो। अख्तियारले पाण्डेविरुद्ध मात्रै २ अर्ब १३ करोड ७६ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्तालगत्तै एक वर्ष फरार पूर्वमन्त्री पाण्डेले विशेषमा ४ करोड रुपैयाँ धरौटी बुझाएका थिए।  

ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजना बनाउने क्रममा अनियमितता भएको भन्दै अख्तियारले राप्रपाका नेतासमेत रहेका पाण्डेलगायत २१ जनाविरुद्ध ८ अर्ब रुपैयाँभन्दा बढी माग दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो। बाँकेमा बनिरहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किएको, सो नहरको डिजाइनमै त्रुटि भएको अख्तियारले ठहर गरेको थियो। आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले अनुगमन नगर्दा गुणस्तरहीन काम भएकाले बनाउँदाबनाउँदै नहर भत्किएको थियो।  

निर्माण व्यवसायीलाई सिँचाइ विभाग, आयोजनामा कार्यरत कर्मचारीको मिलेमतोमा नहर बनाउँदा कमसल सामग्री राखिएको, अनिवार्य गुणस्तर परीक्षण प्रावधानसमेत ठेक्का सम्झौताका कागजातमा उल्लेख नगरिएको अख्तियारको दाबी थियो।  

भ्रष्टाचार गर्ने उद्देश्यले गलत डिजाइन गरेर हतारमा ठेक्का सम्झौता गर्ने परामर्शदाता, म्यानेजिङ डाइरेक्टर, आधिकारिक प्रतिनिधि, प्रमुख सबैको मिलेमतोमा बदनियतका साथ कमजोर काम भएको अख्तियारको दाबी छ।

मुद्दामा पूर्वआयोजना प्रमुखहरूमध्ये सरोजचन्द्र पण्डितलाई ५९ करोड ३४ लाख ५२ हजार ५९४ रुपैयाँ, दिलीपबहादुर कार्कीसँग १ अर्ब ५६ करोड ८२ लाख ८३ हजार १९९, आयोजना प्रमुख रमेश बस्नेतलाई २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ बिगो दाबी गरिएको थियो। त्यसैगरी सिडिई सूर्यदेव थापाविरुद्ध र योगेन्द्र मिश्रविरुद्ध जनही २७ करोड २२ लाख ५९ हजार, सुशीलचन्द्र देवकोटाविरुद्ध ५८ करोड ५९ लाख २४ हजार, कृष्णप्रसाद सुवेदीविरुद्ध १७ करोड ८ लाख ४३ हजार, प्रेमराज घिमिरेविरुद्ध १० करोड ४० लाख १५ हजार, वीरसिंह धामीविरुद्ध ११ करोड ८५ लाख ५९ हजार, प्रकाशबहादुर कार्कीविरुद्ध ९ करोड १ लाख ५२ हजार, उद्धवराज चौलागाईंविरुद्ध २ करोड ४० लाख ५५ हजार माग दाबीसहितको मुद्दा दर्ता गरिएको थियो।  

विशेष अदालतले सफाइ दिएलगत्तै फैसलाको पूर्ण पाठ आएपछि पुनरावेदन निवेदनसहित सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारीमा अख्तियार रहेको छ। तर फैसलाको पूर्ण पाठ आइनसकेकाले निर्णय भने भइसकेको छैन। ‘हाम्रो जिकिर नपुगेकाले हामी पुनरावेदनमा जान्छौं,’ अख्तियार स्रोतले भन्यो, ‘फैसला आइसकेको छैन। त्यो आएपछि आयोगले निर्णय गरेर हामी अघि बढ्छौं। अहिलेसम्म सफाइ पाएका सबै मुद्दामा पुनरावेदनमा गएकै छौं। यो कसरी छुटाउनु?’

अख्तियारले दर्ता गरेको भ्रष्टाचारको ठुलो मुद्दामध्ये यो पनि थियो। २१ जना प्रतिवादीलाई नै विशेष अदालतले सफाइ दिएको हो। सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेपछि भ्रष्टाचार ठहर भएका मुद्दा पनि रहेका छन्।

प्रकाशित: ७ असार २०७९ ०१:०२ मंगलबार