राजनीति

सरकारले अमेरिकालाई एसपीपीमा सहभागि नहुने भनेर पत्राचार नगरेकोमा रावलद्वारा आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा सहभागि नहुने भनेर पत्राचार नगरेको भन्दै आपत्ति जनाएका छन्। सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रावलले सरकारले एसपीपीमा सहभागि नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेको भन्दै आपत्ति जनाएका हुन्।

उनले अमेरिकाले नेपालले सम्झौता रद्द गर्न सक्ने भनेर भनेको भएपनि नेपाल सरकारले पत्राचार गर्न नसकेको बताए। नेता रावलले पत्र नपठाउनुको कारण के हो? भनेर सरकारलाई प्रश्न समेत गरे। उनले प्रधानसेनापति, परराष्ट्रमन्त्री, गृहमन्त्री र गठबन्धन दलका नेताहरुले समेत एसपीपीमा नेपाल सहभागि नहुने बताइरहँदा पनि पत्र नपठाएकोप्रति आशंका व्यक्त गरे।

नेता रावलले आगामी निर्वाचनमा समान विचार, दर्शन र कार्यक्रम भएकाहरुसँग मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए। विपरित सिद्धान्त भएकाहरु बिचको गठबन्धन अनैतिक हुने उनको तर्क थियो। उनले मिलेर पद बाँडफाँड गर्नका लागि सत्तारुढ गठबन्धन भएको टिप्पणी गरे। 

प्रकाशित: ६ असार २०७९ १२:५१ सोमबार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद भीम रावल स्टेट पार्टनरसीप प्रोगाम एसपीपी