राजनीति

'आइमाई’ शब्दको फन्दामा सांसद गजेन्द्र बहादुर महत

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महत सोमबारको प्रतिनिधीसभाको छलफलमा ‘आइमाई’ भन्ने शब्द पटक पटक प्रयोग गरेपछि महिला सांसदहरुले फ्लोरबाट बिरोध गरेका छन्। ऋण उठाउने विषयमाथिको छलफलमा आफ्नो भनाई राख्ने क्रममा उनले  पटक-पटक उक्त शब्द प्रयोग गरेका थिए।  

सांसद महतले ऋण उठाउने र ऋण लाग्ने विषयमा चर्चा गरिरहेका बेलामा उनले गाँउमा पनि ऋण बढिरहेको उल्लेख गर्दै भने, ‘म पनि ऋणि भइसकेको छु। मेरो आइमाई पनि ऋणी भइसक्यो। उ विभिन्न समूह र सहकारी संस्थाबाट ऋणी भइसक्यो। घरका बुढाबुढी पनि ऋणी भइसके।’  

महतले ‘आइमाई’ शब्द फेरि पनि यसरी दोहोराए, ‘हिजो कोही ऋणी थिएन। अहिले लोग्ने, आइमाई र छोराछोरी पनि ऋणि भइसकेका छन्।’  

उनले पछिल्लो वाक्य के भन्न भ्याएका थिए केही महिला सांसदहरुले फ्लोरबाट हात उठाएर आपत्ति जनाए। ती सांसदहरुले आपत्ति जनाएपछि सभामुख अग्नीप्रसाद सापकोटाले पनि ‘माननिय सांसदलाई ध्यानाकर्षण गराउँछु’ भनेपछि सांसद महतले गाँउघरको चलनचल्तीको भाषामा उक्त शब्द प्रयोग गरेको स्पष्टिकण दिँदै थिए।  

उनले भने, ‘आइमाई भनेर त्यसो भन्न खोजेको होइन। मेरो आइमाई भन्न खोजेको हो। तपाईँ आइमाई भन्न खोजेको होइन। मेरो परिवार, मेरो परिवार भन्न खोजेको हो। हकिकत कुरा गाँउघरको शब्द हो।’ 

प्रकाशित: ६ असार २०७९ १२:२५ सोमबार