राजनीति

सदन छलेर प्रधानमन्त्री एनआरएनए भेलामा

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार प्रतिनिधिसभाको बैठक छलेर गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा सहभागी भए। रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विषयमा सांसदले उठाएका विषयमा प्रतिनिधिसभामा जवाफ दिने कार्यक्रम थियो। प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय पनि सम्हालेका छन्।

रक्षामन्त्री र प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री देउवाले जवाफ दिनुपर्ने थियो। तर रक्षा मन्त्रालयको जवाफ गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जवाफ सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिन लगाएर प्रधानमन्त्री देउवा होटल र्‍याडिसनमा आयोजित एनआरएनएको कार्यक्रममा सहभागी हुन गएका थिए।

रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट दुई मन्त्रीले जवाफ दिएपछि मात्रै प्रधानमन्त्री देउवा सदनमा पुगेका थिए। उनी करिब पाँच मिनेट बसेर फर्किएका थिए। सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विषयमा सदनलाई जवाफ दिन सूचनामन्त्री कार्कीलाई समय दिएपछि एमाले सांसद भीम रावलले प्रधानमन्त्री किन उपस्थित हुन नसकेको भन्दै जवाफ मागेका थिए। उनले भने, ‘प्रधानमन्त्री सिकिस्त बिरामी हुनुहुन्छ भने कुन अस्पतालमा हुनुहुन्छ? जानकारी पाऊँ। विदेश गएको भए कुन देश जानुभयो? तर गृहमन्त्रीज्यूले अमेरिका नजाने बताउनुभएपछि अन्य देश जानुभयो कि? कि कुनै राजदूतसँग वार्ता गर्न जानुभएको छ? जानकारी चाहियो।’  

सदनमा जवाफ दिने बेलामा अनुपस्थित भएर प्रधानमन्त्रीले लोकतन्त्र र संसद् दुवैको उपहास गरेको रावलले टिप्पणी गरे। यसैक्रममा उनले भने, ‘यो सार्वभौम संसद्को अपमान नगरियोस्, जनप्रतिनिधिको खिल्ली नउडाइयोस्। प्रधानमन्त्री स्वयं आएर यो प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सम्बन्धमा सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्छ। जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई पदमा बसिरहन नैतिकताले दिन्छ? कमसेकम न्यूनतम नैतिकता प्रदर्शन गर्नुपर्दैन?’

त्यस्तै सदनमा गृहमन्त्री खाणलाई रक्षा मन्त्रालयको विषयमा जवाफ दिन सभामुखले समय दिएपछि नेमकिपाका प्रेम सुवालले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेका थिए। प्रधानमन्त्री अस्पतालमा भए, विदेश गएको भए प्रमाण चाहिन्छ, अन्यथा उहाँले नै जवाफ दिनुपर्ने सुवालको माग थियो। ‘यो गरिमामय संसद्मा प्रधानमन्त्री किन उपस्थित हुन सक्नुभएन?’ सुवालले भने ।  

उनले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्री बिरामी हुनुहुन्छ कि विदेश जानुभएको छ? यसबारे जवाफ दिनुपर्छ।’ उनले बिरामी भएको भए अस्पतालको ‘प्रेस्क्रिप्सन’ नै चाहिने उनले बताए।  

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको कार्यव्यवस्ताले उपस्थित हुन नसकेको पत्र प्राप्त भएको भन्दै पढेर सुनाएका थिए। त्यसपछि रक्षामन्त्रालयका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएका थिए। उनले कुनै पनि विदेशी सेनाले टुँडिखेलमा आएर परेड खेल्छ भनेर नसोच्न आग्रह गरे। ‘एसपिपीमा नेपाल संलग्न छैन, संलग्न हुने सोच पनि छैन,’ उनले भने। उनले असंलग्न परराष्ट्र नीति अँगालेको नेपाल त्यसबाट दायाँबायाँ गर्न मिल्ने अवस्थामा नरहेको पनि बताए। ‘नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हो। हामीले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई अवलम्बन गरेका छौं। हामी कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्न सक्दैनौं,’ उनले भने, ‘नेपाल र नेपाली सेना कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्न सक्दैन, बन्दैन, म तपाईंहरूलाई ढुक्क हुन आग्रह गर्छु।’ उनले एसपिपी र एमसिसीलाई तुलना गर्न नमिल्ने पनि बताए।

प्रकाशित: ३ असार २०७९ ००:५७ शुक्रबार