राजनीति

केपी ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता कार्यान्वयन गरिसक्योः दाहाल

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित २१ औँ रितबहादुर खड्का (क. प्रताप) को स्मृति सभा तथा दोलखा जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

उनले एसीपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको बताए। अध्यक्ष दाहालले अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने कार्य भइरहेको बताए।

उनले एसपीपी सम्झौता गर्ने भन्ने कुरा झुटो भएको दाबी गर्दै नेपालले अमेकिरासँग एसपीपी जस्ता कुनै सैन्य सम्झौता नगर्ने घोषणा गरे। अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले सैन्य सम्झौता गर्दिन भन्ने वचन दिएको बताउँदै कोही नागरिक भ्रममा नपर्न आग्रह गरे।

अध्यक्ष दाहालले गठबन्धन सरकार एसपीपी जस्तो सैन्य सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता जनाए। उनले नेपालको समृद्धि र विकासको यात्रा पनि सहमति र सहकार्यबाट गर्ने बताए। उनले एक्लै अघि बढ्ने अहंकार र निरंकुशता र अराजकता सबैले तोड्न आवश्यक रहेको पनि बताए। 

प्रकाशित: २ असार २०७९ ०६:१० बिहीबार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एमालेका अध्यक्ष केपी शर्मा ओली