राजनीति

कांग्रेसलाई अहंकार नबढ्नेगरी साईजमा राख्ने तयारीमा छौँः दाहाल

गण्डकी प्रदेश स्तरिय ‘विस्तारित राजनीतिक प्रशिक्षण तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। तस्बिरः उमेश पुन/नागरिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेसलाई अहंकार नबढ्नेगरी साईजमा राख्ने बताएका छन्। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेश स्तरिय ‘विस्तारित राजनीतिक प्रशिक्षण तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उनले आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेसलाई अहंकार नबढ्नेगरी साईजमा राखेर गठबन्धन गरिने बताएका हुन्।

उनले भने, ‘जितले कांग्रेसमा पनि अहंकार बढ्ने खतरा छ। त्यसैले गठबन्धनमा रहेका हामी साना दलहरु माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच कांग्रेसलाई पनि अहंकार नबढ्नेगरी साईजमा राख्नेगरी छलफल अगाडि बढेको छ।’ उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन पूर्ण सफल नभएको बताए। तर केपी ओली प्रवृत्तिलाई सबक सिकाउनका लागि संघ र प्रदेशको निर्वाचनसम्म गठबन्धन कायम रहने उनले स्पष्ट पारे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि एकपटक लडाईं लड्नुपर्ने अवस्था आउने बताए। पुँजीवादी निर्वाचन प्रणाली बदल्न, जनताको पक्षमा निर्वाचन प्रणाली बनाउनुका साथै शासकीय स्वरुपपनि जनताले फैसला गर्ने प्रणाली ल्याउनका लागि माओवादी नेतृत्वमा लडाई लड्नुपर्ने अवस्था आउने उनको भनाइ थियो। त्यसका लागि तयारी अवस्थामा बस्नपनि कार्यकर्तालाई उनले निर्देशन दिए। 'यही निर्वाचन प्रणाली रहिरह्यो भने लडाई छिटै सुरु हुन्छ,' उनले भने, 'ढिलोछिटो लडाई लड्नुपर्छ। त्यसका लागि तयार भएर बस्नुस। त्यो लडाईं हामी जित्छौं फेरि। यो जित्यो भने माओवादी अर्को हाईटमा पुग्छ।’

अध्यक्ष प्रचण्डले केपी ओलीलाई अझैपनि डोज नपुगेको बताए। बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेपनि ओलीलाई डोज पुगेन,' उनले भने, ‘सातै प्रदेशको सरकारबाट हटाउँदा पनि डोज पुगेन। राष्ट्रिय सभामा सबै मिलेर लछारपछार गर्दै हराइयो त्यहिपनि डोज पुगेन। स्थानीय तहको निर्वाचनमा एक सय वटा जितेका पालिकाबाट हराउँदा पनि अस्तीको ३ घण्टे भाषण सुन्दा त अझै डोज पुगेको छैन भन्ने देखियो।’ तर एमाले भित्रका राम्रा र असल नेता/कार्यकर्ताहरुले भने महसुस गरेको उनको भनाइ थियो।

अध्यक्ष प्रचण्डले माओवादीले जितेको १ सय २२ वटा पालिकालाई पार्टीको आधार ईलाका बनाउन निर्देशन दिए। ती पालिकाहरुमा समाजवादी सत्ताका भ्रुणहरु बनाउने र हुर्काउने काम गर्नुपर्नेमा उनको जोड थियो। उनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जनताको ईच्छा र चाहना अनुसार काम गर्न पनि निर्देशन दिए। हाम्राले जितेका पालिकाहरुमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप हुनेगरी काम गर्न निर्देशन दिँदै उनले भने, ‘यी पालिकाहरुमा प्रत्येक निर्णय गर्नु अगाडि जनताको राय बुझ्ने मेकानिजम बनाउनुस्। कुनै निर्णय गर्नुअघि नागरिक अगुवाहरु, किसान, मजदुरलगायत आम जनताको त्यसबारे के राय छ सो विषयमा बुझेपछि मात्रै निर्णय गर्नुस्।’

उनले जनताको आलोचना सुन्ने बानीको विकास गर्नपनि आग्रह गरे। उनले भने,‘आलोचना ठीक भए स्वीकार गरेर सच्याउनुस्। आलोचना गलत भए यी यी कारणले आलोचना गलत भए भनेर सम्झाउने, बुझाउने गर्नुस्।’ उनले माओवादीको पहिचानमाथि प्रश्नचिह्न उठ्ने गरेको बताए। हिजो जनयुद्ध र जनआन्दोलनमार्फत गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लोकतन्त्र ल्याएको माओवादी अहिले कांग्रेस, एमाले, राप्रपालगायतका पार्टीजस्तै देखिएको भन्दै उनले भने, ‘माओवादीको आईडेन्टिटी क्राईसिस भएको अवस्था छ। अब आफ्नो आईडेन्टीटी जोगिने गरी काम गर्नुस्।’ उनले माओवादीले जितेका पालिकाहरुमा जनयुद्ध दिवस मनाउन र जनयुद्धका सहिद, घाइते, बेपत्तालगायतका परिवारलाई सम्मान गर्नपनि सुझाव दिए।

अध्यक्ष प्रचण्डले अहिलेको स्थानीय तहको निर्वाचनले माओवादी भनेको प्रचण्ड नेतृत्वको माओवादी केन्द्र मात्र भएको सन्देश दिएको बताए। ‘यसअघि यो पनि माओवादी, त्यो पनि माओवादी, विप्लव माओवादी, अर्को माओवादीजस्तै नेकपा माओवादी केन्द्र पनि छ भन्ने थियो। तर अहिलेको निर्वाचनले माओवादी भनेको प्रचण्ड नेतृत्वको माओवादी केन्द्र मात्रै हो अरु सबै गए भन्ने प्रष्ट पार्‍यो,’ उनले भने। अब विप्लव अर्को माओवादी क्रान्तिकारी भन्ने भ्रम चुनावले हटाईदिएको उनले बताए।

प्रचण्डले माओवादीहरुबीच बृहद एकताको आवाज उठ्न थालेको बताए। उनले भने, ‘माओवादी रियुनाईट हुने प्रक्रियामा गयो।’ विप्लवदेखि बाबुरामसम्मले अहिले एकता गर्नुपर्‍यो भनेर प्रस्ताव पठाईरहेको उनले बताए। तर ठोस परिस्थिति नबनेसम्म सबैकुरा भनिहाल्ने अवस्था नरहेको भन्दै उनले थप प्रष्ट्याएनन्। उनले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने ऐतिहासिक जिम्मेवारी पनि आफू र आफ्नो पार्टीलाई आएको बताए।

प्रकाशित: २८ जेष्ठ २०७९ १३:२३ शनिबार