राजनीति

मिटर ब्याज असुलीमा हाकिमका पत्नीहरुनै संलग्न छन्: सांसद प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटर ब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिईरहेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शिर्षकमाथि खर्च कटौतिको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लगाएका हुन्। उनले कतिपय पदाधिकारीहरुले स्वकीय सचिव र भान्सेसमेत आफन्त राखेर मिटर ब्याजीको रकम गोजीमा राखेको पनि विभिन्न समाचार माध्याममा आईरहेको भन्दै आपत्ति जनाए। 

सांसद सुवालले मिटर व्याज नियन्त्रण गर्ने सरकारको बजेट वक्तव्यमा उल्लेख भएपनि कानुन हातमा लिन सक्नेहरुनै यसको नियन्त्रणमा बाधक देखिएको दावी गरे। 

उनले भने,  ‘बजेट वक्तव्यमा मिटर व्याज नियन्त्रण गर्ने उल्लेख छ। तर गृह प्रशासनका हाकिमहरुका श्रीमती, आफन्त र सल्लाहकारहरु मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिशन लिईरहेको कतिपय पदाधिकारीहरुले आफन्तहरुलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ। यस्ता गलत काम त कानुन हात लिन सक्नेहरुले गरेको देखियो नि।’

सांसद सुवालले मुलुकलाई ऋणमा डुबाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको पनि दोहोर्‍याए। 

प्रकाशित: २७ जेष्ठ २०७९ ०८:४७ शुक्रबार