राजनीति

'विदेशमा बस्ने नेपालीलाई मतदान गर्ने अधिकार दिनुपर्छ'

राष्ट्रिय सभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेकी छन्। बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनु पर्ने बताएकी हुन्। 

मतदान गर्न पाउनु नागरिकको नैर्सगिक अधिकार भएको उल्लेख गर्दै उनले विदेशीएका नेपालीहरुले सो अधिकार गुमाइरहेका बताइन्। उनले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भुमिमा हुने नेपालीलाई मतदानको अधिकार दिन सरकारसँग माग गरिन्।  

उनले भनिन्, ‘विदेशमा बस्ने नेपालीलाई मतदान गर्ने अधिकार दिनुपर्छ भनेर सर्वोच्च अदालतले २०७५ भदौ महिनामा फैसला गरेको छ। स्थानीय तहको निर्वाचन हामीले गरिसक्यौँ। नागरिकको सबभन्दा ठूलो अधिकार भनेको मतदान गर्ने अधिकार हो। मतदान गर्न पाउने उसको नैर्सगिक अधिकार हो। मौलिक हकमा पनि छ। नैर्सगिक अधिकारलाई नेपाली नागरिकले गुमाइ राखेका छन्। विदेशमा बस्ने नेपालीहरुले यदी त्यही देशको नागरिकता लिएको छ र हाम्रो मुलुकको नागरिकता छोडेको छ भने अर्कै कुरा हो। नभए बाध्यतावश सबै नागरिकहरु यहाँ आएर मतदान गर्न सक्दैनन्।  विदेशमा बस्ने नेपालीले मताधिकार गर्ने अधिकार नपाउनु भनेको गम्भिर विषय हो। त्यसैले कुल मतदाताको २० प्रतिशत प्रवासमा बसेका छन्। म गम्भिरताका साथ आफ्नो कुरा सम्माननीय अध्यक्ष मार्फत् सम्बन्धित निकायमा राख्न चाहान्छु। ति नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले उपयुक्त छैन।’

उनले किसानहरुलाई मलको अभाव भएकाले सरकारले तुरुन्त मलको व्यवस्था गर्नुपर्ने बताइन्।  

प्रकाशित: २६ जेष्ठ २०७९ ०९:२३ बिहीबार