राजनीति

लोसपालाई तीनतिरबाट ‘अफर’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे। जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले बुधबार सार्वजनिक रूपमै पार्टी एकीकरण गर्न लोसपाका नेताहरूलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले पनि भेटमा ठाकुरलाई सहकार्य र गठबन्धनका लागि आग्रह गरेका थिए। ‘यो भनेको हामीलाई तीनतिरबाट गरिएको अफर हो,’ लोसपाका एक नेताले भने, ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हामी गठबन्धनका पक्षमा छौं। त्यसका लागि सबै (कांग्रेस, एमाले र जसपा) सँग कुरा भइरहेको छ।’

ठाकुरसँगको भेटमा देउवाले सहकार्य गर्न प्रस्ताव राखेको लोसपाका नेता शरतसिंह भण्डारीले बताए। तर कस्तो सहकार्य भन्नेबारे उनले खुलाउन चाहेनन्। ‘सहकार्य गरांै भनी उहाँ (देउवा) ले हाम्रा अध्यक्षज्यूसँग प्रस्टसँग प्रस्ताव राख्नुभएको हो। तर सहकार्यको मोडल र विधिबारे थप कुराकानी भएको छैन,’ भण्डारीले भने। एमाले अध्यक्ष ओली र ठाकुरबीचको भेटबारे भने उनले खुलेर बताउन चाहेनन्।

लोसपा कार्यकारिणी सदस्य केशव झाले जेठ २० मा अध्यक्ष ठाकुरले ओलीसँग भेट गरेको बताए। ओलीसँगको भेटपछि देउवा र ठाकुरबीच कुराकानी भएको उनले जनाए। लोसपा स्रोतका अनुसार ओलीसँगको भेटमा संसदीय चुनावलक्षित कुराकानी भएको थियो। संसदीय निर्वाचनमा एमाले र लोसपाबीच तालमेल गर्ने विषयमा कुराकानी भएको बताउँदै स्रोतले भन्यो, ‘त्यसपछि थप कुराकानी भएको छैन। कुराकानी गर्दै जाने सहमति छ।’

लोसपा अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसँग ओलीको सम्बन्ध पुरानो हो। यो सम्बन्धलाई ओलीले कायमै राखेका छन्। ‘तराई मधेसमा संसदीय निर्वाचन जित्न लोसपाको सहयोग र सहकार्य चाहिन्छ भन्ने महसुस ठुला दललाई मात्र होइन, जसपालाई पनि भएको देखियो,’ लोसपा कार्यकारिणी समितिका एक सदस्यले भने, ‘हामीले स्थानीय निर्वाचनमा अपेक्षा गरेअनुसार सिट ल्याएनौं तर पनि सबैतिर हाम्रो निर्णायक भोट रहेको देखियो।’

जनकपुरमा बुधबार आयोजित एक कार्यक्रमा जसपा अध्यक्ष यादवले स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार सिट ल्याउन नसक्नुमा पार्टी विभाजन मुख्य कारण रहेको बताएका छन्। उनले लोसपाका नेताहरूलाई लक्षित गर्दै भने, ‘आउनुहोस्, अब मिलौं। विगतका तिता कुरा बिर्सौं, पार्टी एकीकरण गरौं।’ विगत केही दिनयता जसपा र लोसपाका दोस्रो तहका नेताहरूले पहिलो तहका नेताहरूबीचको सम्बन्ध सुधारका लागि प्रयास गरिरहेका छन्।

एमाले नेतृत्वको पूर्ववर्ती सरकारमा जसपाभित्रको ठाकुर खेमा सहभागी भएपछि पार्टीमा विभाजन आएको थियो। जसपाबाट अलग भएर ठाकुर पक्षले लोसपा गठन गरेको हो। ओली नेतृत्वको तत्कालीन सरकारमा सहभागी भएको विषयमा माफी नमागेसम्म लोसपासँग सहकार्य त परै जाओस्, कुराकानी पनि हुन सक्दैन भन्दै आएका जसपाका नेताहरूको बोली अहिले फेरिएको छ। ‘उहाँहरू (लोसपाका नेताहरू) पाँच दलीय गठबन्धनमा आउनुभयो भने हामी स्वागत नै गर्छौं,’ जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले भने।

जनकपुरबाट पार्टी एकीकरण गर्न जसपा अध्यक्ष यादवले राखेको प्रस्तावमा लोसपाका नेताहरूले औपचारिक रूपमा केही बोलेका छैनन्। तर लोसपा संसदीय निर्वाचनमा कुनै एक ठुलो दलसँग तालमेल या गठबन्धन गरेर अघि बढ्ने पक्षमा छ। कांग्रेस, एमाले या जसपासँग तालमेल या गठबन्धन गर्ने लोसपाको प्रयास छ। ‘तीन दलमध्ये जसपासँग तालमेल भयो भने हामीलाई झनै सजिलो हुन्छ,’ लोसपाका अर्का एक नेताले भने, ‘किनभने जसपा र हाम्रो पार्टीको अजेन्डा र भोट बैंक एउटैएउटै हो।’

प्रधानमन्त्री देउवाले पनि लोसपाका माग पूरा गर्ने आश्वासन दिँदै सो पार्टीसँग सहकार्य चाहेका छन्। प्रधानमन्त्रीले माग पूरा गर्ने आश्वास दिएपछि लोसपाले हतारहतारमा मंगलबार प्रधानमत्रीलाई ११बुँदे ज्ञापनपत्र बुझाएको छ। स्रोतले भने, ‘प्रधानमन्त्रीको आश्वासनपछि लोसपाले माग बुझाएको हो।’  

प्रकाशित: २६ जेष्ठ २०७९ ०१:०७ बिहीबार

लोसपालाई तीनतिरबाट ‘अफर’ सहकार्य र गठबन्धनका लागि आग्रह