बुटवल उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठकले विषयगत समितिहरु गठन गरेको छ। बुधबार बसेको कार्यपालिकाको बैठकले सार्वजनिक सेवा तथा क्षमता प्रवर्द्धन, आर्थिक, सामाजिक विकास, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, विधेयक, राजश्व परामर्श र नापजाँच समिति गठन गर्ने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिए।
सार्वजनिक सेवा तथा क्षमता प्रवर्द्धन समितिको संयोजकमा पदम गाहा, आर्थिक समितिको संयोजकमा डिल्ली शर्मा आचार्य, सामाजिक विकास समितिको संयोजकमा प्रदीप श्रेष्ठ, पूर्वाधार विकास समितिको संयोजकमा नारायण प्रसाद पुन रहेका छन्।
वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा रामचन्द्र क्षेत्री, विधेयक समितिको संयोजकमा नरेन्द्र बस्नेत, राजश्व परामर्श समितिमा नरिश्वर पौडेल र वसन्ती बिक, जाँचपास तथा फरफारक समितिको संयोजकमा हरि श्रेष्ठ रहने निर्णय भएको छ।
बैठकले असार ८ गते पहिलो नगर सभा डाक्ने र वडा भेला असार १ गतेभित्रै गर्ने निर्णय गरेको प्रमुख पाण्डेले बताए। वडा भेलाबाट बजेटको सिलिङ र योजना सिफारिश गर्ने र त्यसैअनुसार बजेट निर्माण हुने नगरप्रमुख पाण्डेले बताए।
बैठकले नगरप्रमुखको चुनावी प्रतिबद्धताअनुसार बुटवल ११ मा वीपी पुष्पलाल पार्क निर्माण गर्ने निर्णय गरेको छ। बुटवल ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रण र जोखिम न्यूनीकरणका लागि समेतनगरपालिकाले काम सुरु गरीसकेको उनले बताए। वर्षायाममा हुन सक्ने पहिरोको जोखीम न्युनीकरणकालागि ज्योतीनगरतर्फ बग्ने भेलको बहावलाइ तर्काएर पाल्पातर्फ नै फर्काउन आवश्यक काम भइरहेको नगरप्रमुख पाण्डेले बताए।
प्रकाशित: २५ जेष्ठ २०७९ १३:१५ बुधबार