राजनीति

काठमाडौंको फोहाेर व्यवस्थापनका लागि प्रधानमन्त्रीले विशेष पहल लिनुपर्छ: सांसद थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको फोहोरमुक्त काठमाडौं बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले फोहोर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीले नै विशेष पहल लिनुपर्ने खाँचो औँल्याए। कांग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले भने, 'काठमाडौँको फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले गरिरहेको काममा मद्दत गर्नु हामी सबैको कर्तव्य हो। कतिपय कुरा दुइटा निकायले चाहेर मात्रै गर्न सम्भव छैन। स्रोत साधन र कानुन नियमको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै विशेष पहल लिन आग्रह गर्दछु।'

सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै नगरवासीले पनि महानगरपालिकाको आह्वानबमोजिम स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्नुपर्ने सांसद थापाको भनाइ छ। फोहोरमुक्त काठमाडौँ अभियानलाई सफल बनाउन महानगरसँग जोडिएका अन्य नगरपालिका र सम्पूर्ण वडाहरुले सङ्घसंस्थाको साथमा काम अघि बढाउन पनि आग्रह गरे।

प्रकाशित: २५ जेष्ठ २०७९ ०८:०९ बुधबार