नेपाली कांग्रेसका सांसद गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्न साधारण नागरिक सरह यातायात कार्यालय गएर लाइनमा बस्न सुझाव दिएका छन्।
मंगलबार बजेट माथिको छलफलमा भाग लिदै उनले इम्बोस्ड नम्बर राख्न लाइनमा बसेका आमनागरिकले कति दुःख पाइरहेका छन भनेर महशुस गर्न मन्त्री यादवलाई यो आग्रह गरेका हुन्।
थापाले सरकारको अव्यवहारिक र तयारी बिना गरिएको निर्णयले आमनागरिकले दुःख भोगिरहेको उल्लेख गर्दै भने, ‘असार भित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दछु।’
उनले भने, ‘काठमाडौंका यातायात कार्यालयको अवस्था बुझन आफैँ साधारण नागरिक भएर इम्बोस्ड नम्बर प्लेट बदल्न लाइनमा बस्नुभयो भने नागरिकले कति सास्ती पाइरहेका छन भन्ने अनुभूति हुन्छ।’ थापाले यातायात कार्यालयले असार भित्र इम्बोस्ड नम्बर दिन नसक्ने भएकाले नागरिकलाई दुःख नदिन पटक पटक आग्रह गरेका थिए।
उनले इम्बोस्ड नम्बर जडानसम्बन्धि भएका ठेक्का सम्झौताबारे जानकारी दिन मन्त्री यादवलाई आग्रह पनि गरे।
प्रकाशित: २४ जेष्ठ २०७९ ०९:५० मंगलबार