काठमाडाैं उपत्यकाको फोहाेर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनेको छ। पछिल्ला समय उपत्यकामा फोहोर उठ्न सकेको छैन। चोकचोक तथा सडकमा यत्रतत्र फोहोर थुप्रिएको छ। फोहाेरको दीर्घकालीन व्यवस्थापन गर्ने सरकारको घोषणाले मूर्तरुप लिन सकेको छैन। उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहोर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन्।
उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापनका विषयमा राष्ट्रियसभाका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले काठमाडौँको चोकचोकमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए। 'फोहोरले दुर्गन्ध बढेको छ, अहिले पानी परिरहेको छ, यसले हैजालगायत महामारी फैलन सक्छ, त्यसकारण फोहरको चाँडो व्यवस्थापन गर्नुपर्छ', उनले भने।
फोहाेर व्यवस्थापनलाई महानगरको मात्र दायित्वका रुपमा कसैले पनि बुझिदिन नहुने भन्दै उनले फोहाेरको दीर्घकालीन समाधानका लागि सबै सरोकारवालाको उत्तिकै भूमिका रहने बताए। कुहिने र नकुहिने फोहोरलाई एकै ठाउँमा व्यवस्थापन गर्नुभन्दा कुहिने फोहरबाट मल र नकुहिने फोहोरको पुनः प्रयोग गर्नेतर्फ ध्यान दिनुपर्ने बताए।'सडेर जाने फोहोरलाई मलको रुपमा प्रयोग गर्न सकिन्छ। यसका लागि नागरिक सचेतनाको आवश्यक छ', 'नकुहिने फोहोर कवाडीमा बेचेर आर्थिक उपार्जन गर्न सकिन्छ।'
सांसद जयन्ती देवी राईले फोहाेरको दुर्गन्धका कारण सडकमा हिँड्नसमेत समस्या भएको उल्लेख गर्दै यसको दीर्घकालीन व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन्। फोहाेरलाई स्रोतमा नै कुहिने र नकुहिने गरी छुट्टयाएर व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै उनले फोहोरलाई मोहरमा बदल्ने कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरिन्।
'अहिले दुर्गन्धले हिँडन सक्ने अवस्था छैन। गर्मी र बर्खाको समय छ, महामारी फैलन सक्छ त्यसकारण फोहाेरको जतिसक्दो चाँडो व्यवस्थापन गर्नुपर्छ', उनले भनिन्।
प्रकाशित: २४ जेष्ठ २०७९ ०९:०७ मंगलबार