राजनीति

अन्तर्घातीलाई छाडेर भुसालमाथि कारबाही प्रपञ्च

स्थानीय तहको निर्वाचन सकिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र घातअन्तरघातको विषयमा अन्तर्विरोध चर्किएको छ।

स्थानीय तहको निर्वाचनमा देशका मूल सहरसहित विभिन्न स्थानमा अन्तरघात गर्ने नेताकार्यकर्तालाई छाडेर स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाही गर्ने मनशायले स्पष्टीकरण सोधिएपछि एमालेमा अन्तर्विरोध चर्किएको हो।

काठमाडौं, पोखरा, बुटवललगायत स्थानमा एमालेभित्र अन्तर्घात भएको भन्दै पार्टीका नेताहरूलाई कारबाही गर्नुपर्ने आवाज उठेका बेला घनश्याम भुसालको एउटा अभिव्यक्तिको विषयलाई लिएर अनुशासन आयोगले कारबाहीको सिफारिस गरेको थियो। भुसाललाई कारबाहीको प्रक्रिया अघि बढाएपछि एमालेमै पनि त्यसको विरोध हुँदै आएको छ।

अनुशासन आयोग आफैंले कारबाही गर्न नसक्ने, सिफारिस मात्रै गर्ने भएकाले भुसाललाई कारबाहीका लागि सिफारिस मात्रै गरिएको हो। पाटी अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध अभिव्यक्ति दिएको, पार्टी कमिटीमा राख्नुपर्ने कुरा सञ्चारमाध्यममा बोलेको भन्दै उनलाई कारबाही सिफारिस गरिएको हो।

अध्यक्ष ओलीको आलोचना गर्दै पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै पार्टीभित्र विरोध हुन थालेपछि अनुशासन आयोगले पार्टी नीतिविपरीत कार्य गर्नेहरूको सूची संकलनका लागि सातवटै प्रदेशमा पत्राचार गरेको छ। भुसाललाई कारबाहीको विषय उठेपछि पार्टीका नेता भीम रावलले पार्टी उल्टो बाटो हिँड्न खोजेको आरोप लगाएका छन्।

‘देश जनता र पार्टीलाई एकताबद्ध र बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो। यसका लागि आगामी चुनाव जित्नैपर्छ। कमजोरीबारे संस्थागत रूपमा गम्भीर समीक्षा गरेर अघि बढ्ने बाटो तय गर्नुपर्छ। यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ,’ नेता रावलले भनेका थिए।

भुसालमाथि स्पष्टीकरण सोध्ने आयोगको निर्णयसँगै उनीनिकट नेताकार्यकर्ताहरूले पनि तीव्र प्रतिक्रिया दिएका थिए। पार्टीका सचिव योगेश भट्टराईले आयोगबाट कारबाहीको सिफारिस आएपछि अप्ठ्यारो बेलामा सबै सम्हालिएर अघि बढ्नुपर्ने अभिव्यक्ति दिएका थिए।

‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ। आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्‍याउँदैन। फेरि पनि वादेवादे जायते तत्वबोध,’ सचिव भट्टराईले भनेका थिए। सोही सन्दर्भलाई लिएर एमाले केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पनि महानगरमा मत नदिने नेताकार्यकर्तालाई पनि कारबाही गर्नुपर्नेमा जोड दिएकी छन्।

‘अब पोखराका वडामा पार्टीलाई भोट हाल्ने तर मेयरमा नहाल्ने, भरतपुरका वडामा पार्टीलाई भोट हाल्ने तर मेयरमा भोट नहाल्ने, काठमाडौंमा वडामा भोट हाल्ने तर मेयरमा नहाल्नेहरू सबैलाई स्पष्टीकरण सोधौं। ती सबै भोटर (एमाले समर्थक) पनि ओलीका आलोचक न परे,’ तिमल्सिनाले भनेकी छन्।

प्रकाशित: २४ जेष्ठ २०७९ ०७:११ मंगलबार

स्थानीय तहको निर्वाचन नेकपा एमाले घनश्याम भुसाल