राजनीति

राप्रपाको सालिक राजनीति

आफ्नो गाउँसहरको ऐतिहासिक र सांस्कृतिक पक्षको कसरी संरक्षण गर्ने भन्ने खाका स्थानीय सरकारसँग हुनुपर्छ। नेपालगन्जमा स्थानीय सरकारको पहिलो पाँच वर्ष ऐतिहासिक र सांस्कृतिक पक्षको संरक्षण कसरी गर्ने त परको कुरा समग्र सहरको विकासको समेत खाका नकोरिकनै सकियो।

बरु नेपालगन्जका चोकहरूमा सालिक स्थापना गर्ने कुरालाई राजनीति गर्ने माध्यमको रूपमा विवादित मुद्दा बनाएर जीवितै राखियो। त्यसकै परिणामस्वरूप बिहीबारको घटना भयो। यस्ता घटनाको खतरा अझै जीवितै छ।

उदेकलाग्दो त के भने संरक्षणवादी राजनीति गर्दै आएको राप्रपाका एक शीर्ष नेता डा. धवलशमशेर राणा नेपालगन्ज उपमहानगरपालिकाको मेयर चुनिएर पाँच वर्ष सरकारमा रहे। तर उनले नेपालगन्जको सालिकका नाममा बेलाबेला निम्तिरहने विवादहरू समाधान गर्ने कुनै काम गर्न सकेनन्। उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा यस विषयले स्थान पायो।

नेपालगन्जको त्रिभुवन चोकमा २०७८ साल फागुन ८ गते राजा त्रिभुवनको सालिक राख्दा पनि सर्वपक्षीय सहमति त परको कुरा प्रशासनलाई सुइँकोसमेत दिइएन। त्यसरी बलजफ्ती सालिक राख्ने कामलाई मेयर राणाले पर्दा पछाडिबाट सहयोग र समर्थन गर्दै आए। बाहिर जनताले स्वःस्फूर्तरूपमा राखेका हुन् भन्ने अभिव्यक्ति दिए।

त्रिभुवन चोकमा राखिएको उक्त सालिक पनि हटाइएको भए बिहीबारको जस्तै घटना दोहोरिने खतरा थियो। त्यो खतरा थाहा पाउँदापाउँदै फेरि राप्रपा समर्थक युवाहरूले बिहीबार धम्बोझी चोकमा वीरेन्द्रको सालिक राखे। राखिसकेपछि मात्रै झल्यास्स भएको प्रशासनले सालिक राख्ने समूहकै अघि उनीहरूलाई चिढ्याउने गरी सालिक हटाउन खोज्दा ठूलो दुर्घटनाको सम्मुखमा नेपालगन्ज पुग्यो।

वीरेन्द्र चोकमा यस्तो घटनाको खतरा २०७३ साल भदौ १६ गते पनि मडराएको थियो। २०६३–०६३ सालको जनआन्दोलनका क्रममा नेपालगन्जको धम्बोझी चोकमा रहेको राजा वीरेन्द्रको सालिक आक्रोशित समूहले तोडफोड गरेको थियो। तत्पश्चात जीर्ण बनेको चोकमा राष्ट्रिय झण्डा फहराइँदै आएको थियो।

राजा वीरेन्द्रको सालिक हाइएको करिब एक दशकपछि २०७३ साल भदौ १६ गते राजतन्त्रमा आस्था राख्ने संगठनहरूले सालिक पुनस्र्थापना गरेका थिए। त्यतिबेला पनि सालिक राख्ने पक्ष र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो। तर, प्रशासनले तत्काल सालिक नहटाएर मध्यरातमा क्रेनको सहयाताले राजा वीरेन्द्रको सालिक सुटुक्क हटाएको थियो।

अहिलेका प्रशासनले पनि हटाउन नै पर्ने भए त्यस्तै विधि अपनाउन सक्थ्यो वा सर्वपक्षीय बैठक आह्वान गरी समाधान खोज्न सक्थ्यो। त्यसो नगरी तत्कालै सालिक हटाउन खोज्दा ठूलो दुर्घटनाको सम्मुख पुर्‍याउने र सहरलाई अशान्त बनाउने गरी अवस्था बिग्रियो।

नेपालगन्जका राजनीतिक दलका नेता तथा अहिले उपमहानगरको नेतृत्वमा रहेका नेताहरू पनि यस विषयलाई सधैका लागि समाधान गर्नेभन्दा पनि विषयलाई जीवितै राखेर तत्कालका लागि थामथुम पार्ने मनसायमा देखिन्छन्।

बिहीबार सालिक राख्ने पक्ष र प्रहरीबीच झडप भएको धम्बोझी चोकमा एउटै गाडीमा बसेर पुगेका मेयर प्रशान्त विष्ट र कमरुद्दीन राईले प्रशासन एवम् स्थानीय सरकारलाई कुनै जानकारी नै नदिई सालिक राख्न खोज्दा पस्थिति बिग्रिएको बताए। मेयर विष्टले सालिकको विषयलाई राजनीति गर्ने माध्यम बनाइएको आरोप लगाए। उनको त्यो आरोप राप्रपाका नेताहरूतर्फ लक्षित थियो।

तर विष्टसँगै रहेका उपमेयर कमरुद्दीन राई अब राजामहाराजाका सालिक राख्नु आवश्यक नरहेको बताउँछन्। स्थानीय सरकारको नेतृत्वकर्ताका रूपमा यी दुई धारलाई कसरी मिलाएर लैजाने भन्ने स्पष्ट दृष्टिकोण मेयर विष्टसँग रहेको देखिँदैन। उही तत्कालीन विवादलाई सर्वदलीय बैठकका नाममा साम्य पार्ने र विवादलाई जीवितै राख्ने रणनीति सबै दलहरूको देखिन्छ।

बिहीबार पनि राजाको सालिक राख्न नदिएको भन्दै आक्रोशित भएका केही व्यक्तिहरू अब नेपालगन्जका अरू सालिक पनि सुरक्षित नरहेको चेतावनी दिँदै थिए। त्यसको एक संकेत सेतु विकको सालिक तोडफोडमा देखियो। विशेष गरी त्रिभुवन चोक र धम्बोझी चोकमा पूर्व राजाहरूकै सालिक राख्नुपर्ने मत नेपालगन्जमा बलियो। राप्रपाभन्दा बाहिर रहेका र अन्य मुख्य दलका नेता कार्यकर्ताहरू नै यी चोकमा पूर्वराजाको सालिक राख्नुपर्ने मत राख्छन्।

कतिपयले पहिले राखिएका राजाका सालिकलाई इतिहासका रूपमा जोगाइराख्दा केही नबिग्रने मत राख्छन्। यसको विपक्षमा यी चोकहरू सहादत प्राप्त गर्ने सर्वसाधारणको नाममा हुनुपर्ने नभए कसैको सालिक राख्न नहुने मत पनि छ। त्रिभुवन चोक मात्रै नभइ कारकाँदो चोक, रानीतलाउ चोक लगायतका चोक कसका नाममा राख्ने कसको सालिक राख्ने भन्ने विवाद चलिरहेकै छन्।

यी सबै विवादलाई मिलाएर सालिकको नाममा हुने तुच्छ राजनीति र बेलाबेलामा सहरलाई अशान्त बनाउने निहुँको अन्त गर्न सबै गम्भीरतापूर्वक लाग्नु आवश्यक छ। त्यसका लागि सालिक, सडक र सार्वजनिकस्थलको नामकरणमा स्थानीय सरकारको नीति पनि प्रष्ट हुनु आवश्यक छ।

यता राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटाले एउटा विचारक सालिक राख्नै नपाउनु भनेको गणतन्त्रको कमजोर धरातल भएको बताए। ‘यो व्यवस्थामा एकअर्काका सिद्धान्तलाई सम्मान गर्दै जानुपर्छ,’ उनले भने, ‘तर यहाँ त राज्य एउटा सालिकदेखि डरायो।’ यसले गणतन्त्र कमजोर बन्दै गएको संकेत दिएको उनी बताउँछन्।

गणतन्त्रकी सहिदमाथि राजावादीको प्रहार

खजुरास्थित सेतु विके गणतन्त्र प्राप्तिको आन्दोलनमा सशक्त रूपमा सहभागी भइन्। राजनीतिक चेत नभएकी उनी थिचोमिचो र विभेदका विरुद्ध गणतन्त्र प्राप्तिको २०६२–०६३ को जनआन्दोलनमा होमिइन्। व्यवस्था परिवर्तनका लागि सडक आन्दोलनमा उत्रिएकी उनी ज्ञानेन्द्र चोकको आन्दोलनमा अग्रमोर्चामा थिइन्।

आन्दोलन दबाउन राज्यले हर प्रयास गरेको थियो। सोही क्रममा ज्ञानेन्द्र चोक नजिकै उनलाई अश्रुग्याँस लाग्यो र ढलिन्। केहीबेर अर्थात् २०६३ वैशाख ५ गते उनको मृत्यु भयो। गणतन्त्रका लागि बलिदानी दिएकी सेतुको सम्मानका लागि ज्ञानेन्द्र चोकलाई सेतु विक चोकमा नामाकरण गरियो। जहाँ उनको सालिक राखियो।

सालिक राख्दादेखि अहिलेसम्म यस विषयमा विवाद सिर्जना भएन। कसैले उनको सालिकमा गिद्धेनगरसमेत लगाएनन् बरु संरक्षण गरे। तर, बिहीबार राजावादीको एक समूहले उनको निर्दाेष सालिकमाथि हतौडा प्रहार गर्‍यो। पटकपटक सेतु विकको सालिकमाथि हतौडा बजारे। तर सालिक फुटेन। अनि एक युवक सालिकमाथि पुग्छन् र हतौडा बजार्छन्।

अनि सालिकको माथिल्लो भाग अर्थात् निधारनेर सालिक फुट्छ। सालिक फुटे पनि व्यवस्था न फुटोस् भन्ने नेपालगन्जवासीको कामना छ। सेतु विकको निर्जीव सालिक केही टुट्दा नेपालगन्जीयाको मन धर्किएको छ। ‘गणतन्त्र प्राप्तिका लागि आफ्नो ज्यान आहुती दिएको सेतुको के गल्ती थियो र?,’ यही प्रश्न यहाँको जनजनमा खेलिरहेको छ। सेतु विकमा परिवारको मन धौ सम्हालीन पुगेको छ।

नेपालगन्जको धम्बोझीमा राजावादी समर्थकको एउटा समूहले स्वर्गीय राजा वीरेन्द्रको सालिक पुनःस्थापना गर्न नपाएको झोकमा नेपालगन्जको न्युरोडमा रहेको सहिद सेतु विकको सालिकमा तोडफोड गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले जनाए।

उनले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘२०६२/०६३ जनआन्दोलन–२ की सहिद सेतु विकको सालिकमा गरिएको तोडफोड अराजकताको पराकाष्ठा मात्र होइन परिवर्तित व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार हो।’

प्रकाशित: २३ जेष्ठ २०७९ ०३:४५ सोमबार

सेतु विकको निर्जीव सालिक सार्वजनिकस्थलको नामकरण