राजनीति

जिससको निर्वाचन जेठ ३० गते, ९ सदस्यीय समिति बनाउने निर्णय

आइतबारको जिल्ला सभाको बैठक।

जिल्ला समन्वय समिति गोरखाको निर्वाचन जेठ ३० गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार सूचना जारी गर्दै पालिकाहरुको निर्वाचन सकिएकाले अब जिल्ला समन्वय समितिको निर्वाचन गर्ने उल्लेख गरेको छ।  

जिल्ला सभाका जेष्ठ सदस्य चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाको अध्यक्षतामा भएको आईतबारको छैठौँ जिल्ला सभाले नौ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। यसअघि पनि जिल्ला समन्वय समिति नौ सदस्यीय रहेको थियो। अध्यक्ष/उपाध्यक्ष र सात जना सदस्य समितिमा रहनेछन्।  

मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जेठ २२ गते मतदाता नामावली प्रकाशन, २५ गते उम्मेदवारको मनोनय पत्र दर्ता र ३० गते मतदानको तालिका सार्वजनीक गरेका हुन्।  

जिल्ला समन्वय समितिको निर्वाचनमा गोरखाको ११ वटा पालिकाका प्रमुख/उपप्रमुख गरी २२ जना सदस्य मतदाता हुनेछन्। जिसस प्रमुख, उपप्रमुखसहित ९ सदस्यिय समितिका लागि उम्मेदवार भने नगर तथा गाउँसभाका सदस्यहरु बन्न पाउने व्यवस्था छ। 

प्रकाशित: २२ जेष्ठ २०७९ १०:१७ आइतबार