राजनीति

इटहरीमा एमालेका उम्मेदवार निर्विरोध विजयी

बराहक्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

इटहरी उपमहानगरपालिकाको कार्यपालिका निर्वाचनमा निर्वाचित भएकालाई शनिबार सपथग्रहण गरिएको छ। एमालेबाट निर्विरोध निर्वाचित कार्यपालिकाका आठ जना सदस्यलाई मेयर हेमकर्ण पौडेलले सपथग्रहण गराएका हुन्।  

यहाँ अरु दलबाट उम्मेदवारी दर्ता नगरेपछि स्वतः एमालेका उम्मेदवार निर्विरोध विजयी भएका हुन्। इटहरी उपमहानगरपालिका कार्यपालिकामा सदस्यमा दलित तथा अल्पसंख्यक कोटाबाट प्रमोद शेर्पा, भीमादेवी राई र मनबहादुर विश्वकर्मा विजयी भएका छन्। यस्तै, महिला कोटामा राधिका विश्वकर्मा पौडेली, दिपा राई, भीमाकुमारी तुम्बाहाम्फे, विन्दा केसी र तारादेवी ढकाल विजयी भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।  

इटहरी उपमहानगरपालिकामा मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एमालेका तर्फबाट संगीता चौधरी विजयी भएकी थिइन्। यस्तै, नेपाली काँग्रेसले पाँचवटा वडा जितेको छ। नेकपा एमालेले १४ वटा वडा जित्न सफल भएको छ। एउटा वडामा भने एमालेबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ।  

उत्ता, वराहक्षेत्र नगरपालिकामा कार्यपालिका सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनको टिम विजयी भएको छ। निर्वाचनमा आठ जना कार्यपालिका सदस्य नै गठबन्धन तर्फका उम्मेदवार विजयी भएका हुन्।

आठ जना कार्यपालिका सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको थियो। ५७ जना मतदाता रहेको निर्वाचनमा दलित वा अल्पसंङख्यकमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका पकज महतो, माओवादी केन्द्रका रत्नबहादुर रम्तेल र नेकपा एकीकृत समाजवादीबाट सुस्मा माझी विजयी भएकी छन्। विजयी तीनै जनाले ३४/३४ मत प्राप्त गरे।  

दलित तथा महिला वडा सदस्य मध्येबाट कार्यपालिका सदस्यमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन्। गठबन्धनतर्फबाट नेपाली काँग्रेसका नविना विश्वकर्मा, भगवती कटुवाल (खड्का), मालती विश्वकर्मा, माओवादी केन्द्रबाट बिष्णुमारी बिष्ट र जनता समाजवादी पार्टी नेपालबाट दुर्गा राई विजयी भएका हुन्। विजयी हुने सवैले ३३/३३ मत प्राप्त गरे।  

निर्वाचित कार्यपालिका सदस्यलाई शनिबार नै प्रमाण पत्र वितरण गरियो। निर्वाचन कार्यलयका अधिकृत रमेश श्रेष्ठले निर्वाचित सदस्यलाई प्रमाण पत्र वितरण गरे। साथै, कार्यपालिका सदस्यलाई नगर प्रमुख रमेश कार्कीले सपथ ग्रहण गराए।

प्रकाशित: २१ जेष्ठ २०७९ १३:५१ शनिबार