राजनीति

रुस-युक्रेन युद्धका कारण नेपाली जनता मूल्य वृद्धिको मारमा: पुष्पा भुसाल

सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्य वृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छिन्।

सचेतक भुसालले रुस-युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्य वृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताइन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन सरकारसँग माग गर्दै प्रतिनिधिसभा बैठकमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनले आयातित बस्तुहरुको प्रतिस्थापन नगरी मूल्य वृद्धिको समस्या हल गर्न नसकिने भएकाले सरकारले यस दिशामा पनि आफूलाई अगाडि बढाउनुपर्ने बताइन्।

सचेतक भुसालले मूल्य वृद्धिबारे अध्ययन गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराइन्। 

प्रकाशित: २० जेष्ठ २०७९ ०७:२० शुक्रबार

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल पेट्रोलियम पदार्थको मूल्य वृद्धि प्रतिनिधिसभा बैठक