राजनीति

'स्वतन्त्र व्यक्तिले देश बनाउन सक्दैन, राजनीतिमा सफल हुन संस्थागत प्रक्रियामा जोडिनुपर्छ'

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन्।

बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताएका हुन्।

उनले दलहरुको गठबन्धनले देश बनाउन नसकिने बताए। उनले जति धेरै राजनीतिक दलहरु हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने बताए। देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरुको निर्माण गर्नुपर्ने उनको भनाइ छ।

महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरु राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए। महासचिव पोखरेलले भन्सार नीतिमा गरिएको हेरफेरका कारण विदेशी मुद्राको सञ्चितीमा गिरावट आएको बताए।

व्यापारीहरुले आयातमुखि नीति फेरी नआउने ठानेर अस्वभाविक रुपमा आयात गरेका कारण विदेशी मुद्राको सञ्चितीमा ह्रास आएको उनले बताए। उनले राज्यले हुण्डी कारोबारीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको बताए।

रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउन छाडेको उल्लेख गर्दै उनले बैंकिङ नीतिलाई प्रभावकारी बनाउन सकेको भए त्यसो नहुने धारणा राखे। सरकारले स्रोत नखुलेको लगानी भित्राउने नीति अगाडी बढाएसँगै बजारबाट पैसा हराएको उनले बताए। 

प्रकाशित: १९ जेष्ठ २०७९ ११:३१ बिहीबार

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेपाल राष्ट्र बैंक कर्मचारी संघ रेमिट्यान्स बैंकिङ प्रणाली