राजनीति

एसएसबीद्वारा काँकरभिट्टा नाका 'बन्द'

इलाम– भारतीय पक्षले 'सुरक्षा जाँच' कारण देखाउँदै पूर्वी नाकामध्येको प्रमुख काँकरभिट्टाबाट हुने पैठारी ठप्प पारेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले यसरी भन्दै बुधवारदेखि भारतबाट नेपाल भित्रिने मालबाहक कन्टेनरको आवागमनमा अवरोध पुर्याएको हो।यसले काँकरभिट्टास्थित मेची भन्सार कार्यालयको राजस्व असुली ठप्प प्रायः हुन पुगेको छ। मेची नदीपारीको पानीट्यांकीस्थित एसएसवीले अवरोध पुर्याउँदा काँकरभिट्टा नाकामा विगतजस्तो मालबाहक सवारी आवागमन भएको छैन। बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार अपरान्ह ३ बजेसम्म उक्त नाकाबाट आधा दर्जन कन्टेनर मात्र भित्रिएको भन्सार कार्यालयले जनाएको छ। सामान्य अवस्थामा उक्त नाकाबाट दैनिक ३० वटा कन्टेनर नेपाल भित्रिने गर्थे।

कार्यालयका भन्सार अधिकृत गोविन्द पन्तका अनुसार, भारत र बंगलादेशबाट सामान बोकेर नेपाल प्रवेश गर्न खोज्ने दर्जनौं कन्टेनर पानीट्यांकीमै रोकिएका छन्। एसएसबीले 'सुरक्षा जाँच' का नाममा जर्बजस्ती रोकेपछि ती कन्टेनर काँकरभिट्टाबाट नेपाल भित्रिन नपाएका हुन्। एसएसबीको अवरोधले नेपाली कन्टेनरसमेत विगतजस्तो निर्वाधरुपमा भारत जान पाएका छैनन् ।

'झण्डै २४ घण्टा बित्दा भारतबाट ६ वटा मात्रै कन्टेनर नेपाल भित्रिएका छन्, यसबाट सुरक्षा जाँचका नाममा भारतीय पक्षले काँकरभिट्टा नाका बन्द गरेको बुझिन्छ,' अधिकृत पन्तले नागरिकलाई भने, 'यस अवधिमा नेपालबाट १२ वटा कन्टेनर मात्र भारततर्फ गएका छन्।' पन्तले सामान्य अवस्थामा उताबाट ३० र यताबाट २० कन्टेनर उता जाने गरेको जानकारी दिए।

नेपाल भित्रिएका ती ६ वटा कन्टेनरमा टायल तथा खुद्रा सामग्री आएको थियो भने यताबाट भारततर्फ गएका १२ कन्टेनरमा तरकारी थियो। धनकुटामा उत्पादित अग्र्यानिक तरकारी सिलिगुडी र कोलकाताका लागि दैनिकरुपमा काँकरभिट्टा नाकाबाट निकासी हुँदै आएको थियो। अधिकृत पन्तले एसएसबी अवरोधपछि त्यो क्रमसमेत बन्द हुन लागेको जनाए। एसएसबीले कडाई गर्नुअघि अर्थात् बुधवार ५ बजेअघि भन्सार कार्यालयमा भारतबाट ८६ वटा कन्टेनर आएका थिए। त्यसमा ८४ वटा भारतीय र दुईटा नेपाली कन्टेनर थिए।

'तर, त्यसयता एसएसबी अवरोध सिर्जना भएपछि कन्टेनर आउनेक्रम रोकियो,' अधिकृत पन्तले भने, 'पूर्वको प्रमुख नाकामा गरिएको अवरोध किन र कहिलेसम्म भन्ने भारतीय पक्षले खुलाएको छैन।' पानीट्यांकीस्थित कस्टम विभागसहित भारतीय निकायमा धेरैपल्ट सम्पर्क गर्दा 'चित्तबुझ्दो कारण नदेखाइएको' जानकारी दि"दै अधिकृत पन्तले 'एसएसबीले सुरक्षा जाँचका लागि रोकेको' भन्ने मात्र उत्तर पाएको बताए। एसएसबीको अवरोध हुने भएपछि उताबाट आउने कन्टेनर उतै र यताबाट जाने कन्टेनर यतै रोकिएका छन्। यसलाई स्थानीयले 'नाकाबन्दी' भनिरहेका छन्।

अवरोध हुनुअघि मेची भन्सारमा कन्टेनरबाट हुने सामान निकासी पैठारीवापत दैनिक डेढ करोड रुपैयाँ हाराहारी राजश्व संकलन हुँदै आएको थियो । पछिल्ला २४ घण्टाको कन्टेनर आवागमन नगन्य भएकाले राजश्व असुली ठप्प प्रायः भएको अधिकृत पन्तले बताए । यसले राज्यको आम्दानीसँगै किसान र व्यापारीको व्यवसायमा समेत प्रत्यक्ष असर पुर्याएको छ।

उता, पूर्वकै पशुपतिनगर तथा आसपासका नाकामा भने भारतीय पक्षले अहिलेसम्म कुनै अवरोध पुर्‍याएको छैन। पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका इन्सपेक्टर पदम थपलियाका अनुसार, पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बिसेलगायतका साना नाकाबाट बिगतमाजस्तै सानो परिमाणमा सामग्री निकासी–पैठारी भइरहेको छ।

प्रकाशित: ७ आश्विन २०७२ ०४:२२ बिहीबार