राजनीति

आयात घटाएर राजस्व बढ्दैन: ज्ञवाली

नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताए।

राजस्वको ठूलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने उनले बताए। उनले सेनिटरी प्याड र विद्युतिय सवारी साधनको आयातमा ठूला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उल्लेख गरे।

सांसद ज्ञवालीले शिक्षामा अर्बौ रुपैयाँ देश बाहिर गएको भन्दै त्यसलाई रोक्ने कुनै पनि कार्यक्रम बजेटले ल्याउन नसकेको बताए। यस्तै सांसद ज्ञवालीले सरकारको क्रियाकलापले विदेशी लगानी भित्राउन नसकिने बताए।

उनले विगतमा एमसिसीलाई गिजोले जस्तै गरी अहिले बुढीगण्डकीलाई गिजोलिएको बताए। सरकारले विदेशी लगानीकर्तालाई विश्वासको सन्देश दिन नसकेको बताए। प्रस्तुत बजेटले अर्थतन्त्रको मुलभुत समस्यालाई समाधान गर्न नसक्ने उनको भनाइ छ।

प्रकाशित: १९ जेष्ठ २०७९ ०७:११ बिहीबार

नेकपा एमाले प्रदीपकुमार ज्ञवाली प्रतिनिधि सभाको बैठक एमसिसी