राजनीति

प्रचण्डकाे आशंका: कांग्रेसमा पनि एमालेको जस्तै अहंकार आउने हो कि!

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेसलाई ठुलो पार्टी हुनुमा दम्भ नदेखाउन आग्रह गरेका छन्।

बुधबार काठमाडौंमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली कांग्रेसलाई निर्वाचनमा ठूलो दल भएकोमा दम्भ र अहंकार नदेखाउन आग्रह गरेका हुन्। 

उनले विगतमा एमालेलाई अहंकार आएको उल्लेख गर्दै कांग्रेसमा पनि एमालेको जस्तै अहंकार आउने हो कि भन्ने डर पैदा भएको बताए। उनले कांग्रेसमा दम्भ र अहंकार चुलिएर माओवादीलाई केही पनि होइन भनेमा एमालेलाई जस्तै ठेगान लगाउने चुनौती दिए। अध्यक्ष दाहालले माओवादी केन्द्र गठबन्धनलाई कायम राखेरै अघि बढ्न चाहेको बताए। 

उनले भने, ‘हामीलाई मानिसहरुले कहिलेकाहीँ व्यङ्ग्य पनि गर्छन्। माओवादी आफै त केही गर्दैन कहिले एमालेलाई ठूलो बनाउँछ। कहिले कांग्रेसलाई ठूलो बनाउँछ। कहिले एमालेको दम्भ बढाइदिन्छ। अहंकार बढेर चरम चुलीमा पुग्छ र कसैलाई मान्छे नगन्ने बनाइदिन्छ। कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ हामी माओवादीलाई। अब यो हाम्रो बाध्यता पनि छ। आवश्यकता पनि छ। हाम्रा कतिपय कमीहरु पनि होलान्। हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा त हाम्रो उद्देश्य त राम्रो उद्देश्यका साथ हामीले गरेको हो नि । तर यति धेरै अहंकार आयो त्यसको लिडरशिपमा सबै हामी नै हो भनेजस्तो गर्‍यो। हामी त्यसको विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो। अहिले कांग्रेसको फेरी त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौँ। मेहनत गरेरै बनाएको प्रधानमन्त्री हो। हाम्रो अहिले पनि उहाँ भइराख्नुस् भन्ने छ। हाम्रो अर्को केही छैन।' 

प्रकाशित: १८ जेष्ठ २०७९ ०९:५९ बुधबार