राजनीति

बजेट गठबन्धनको घोषणापत्र र चुनावी पर्चा जस्तो: एमाले उपाध्यक्ष पौडेल

पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का सांसद विष्णु प्रसाद पौडेलले सरकारको आ।व। २०७९/८० को बजेटले मुलुकले बोक्न नसक्नेगरी आर्थिक दायित्व सिर्जना गरेको बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा आव२०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिदैँ सांसद पौडेलले वर्तमान सरकारले आफ्नो सिमा मिचेर पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेर मुलुकलाई धेरै आर्थिक दायित्व सिर्जना गरेको बताएका हुन्। उनले मंसिरमा प्रतिनिधि सभाको आयु सकिएर चुनाव हुनुपर्ने भन्दै वर्तमान सरकार चुनावी सरकार भएको बताए। 

बजेट संकटपूर्ण बन्दै गएको अर्थतन्त्रलाई ठिक बाटोमा फर्काउन तत्काल चाल्नुपर्ने कदममा केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए। अर्थतन्त्रको चुनौतीलाई वेवास्ता गरिएको उनले उल्लेख गरे। सांसद पौडेलले बिना तयारीका दिर्घकालिन प्रकृतिका योजना र कार्यक्रमहरुका चाङ लगाइएको बताए। उनले आव २०७९/०८० को बजेट सत्तारुढ गठबन्धनको घोषणापत्र र चुनावी पर्चा जस्तो भएको टिप्पणी गरे। बजेटले मतदातालाई भ्रममा पारेर भोट बटुल्ने उद्देश्य राखेको उनको भनाई छ। 

उनले राज्यको स्रोतलाई गठबन्धनको हितमा दुरुपयोग गरिएको आरोप लगाए। बजेटले बजेटको मर्म माथि नै प्रहार गरेको उनले बताए। 

प्रकाशित: १७ जेष्ठ २०७९ ०६:३६ मंगलबार