राजनीति

त्रियुगामा गठबन्धनले खाता खोल्यो

१६ नं. का नवनिर्वाचित वडाध्यक्षलगायत जनप्रतिनिधिसँग पार्टी नेता कार्यकर्ता। तस्बिर: महेश्वर/नागरिक

सदरमुकाम त्रियुगा नगरपालिकामा गठबन्धनले खाता खोलेको छ। वडा नं.१६ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मानबहादुर राई अत्याधिक मतसहित प्यानलै विजयी भएर त्रियुगामा खाता खोलेका हुन्।  

राईले ९ सय ३२ ल्याएर वडाध्यक्ष विजयी हुन सफल भएका छन्। यो हिस्सा खसेको कुल मत १ हजार ४ सय ७६ को ६४ प्रतिशत हो। उनलाई परेको मतमध्ये ७७ वटा भने बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्रियुगामा मेयर र उपमेयरमा नेकपा (एकीकृत समाजबादी)सँग गठबन्धन गरेको माओबादीले १६ नं. वडामा भने एकल लडेको थियो।  

राईका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबहादुर मगरले ३ सय ३१ र एमालेका विष्णुकुमार मगरले १ सय १६ मतमा चित्त बुझाउनु परेको छ। राईको प्यानलमा माओबादीबाट महिला सदस्य गोमा ढुंगाना कार्कीले ८ सय ८० मत पाएर निर्वाचित हुँदा दलित महिला सदस्यमा कुन्ती परियारले ८ सय ७५ र खुल्ला सदस्यमा घमानसिंह राईले ८ सय ४८ तथा रामनारायण श्रेष्ठले ८ सय २८ मत पाएका छन्।  

अघिल्लो नतिजा अनुसार १ मतले पछि परेका काँग्रेसका मेयर प्रत्यासी बसन्त बस्नेतले ११ मतले अग्रता लिएका छन्। उनलाई १ हजार ३ सय ६८ मत पर्दा गठबन्धनका तर्फबाट एकीकृत समाजबादीका बलदेव चौधरीलाई १ हजार ३ सय ५७ मत परिहेको छ। एमालेका भागवत राउतलाई ८ सय ६२ मत परिरहेको छ।  

सुरुमा त्रियुगाका १, २ र १६ को गणना गरिएकोमा १६ को नतिजा आएको र १ र २ वडाको परिणाम अन्तिम चरणमा पुगेको छ। अहिले ३ र १५ नं. को गणना सुरु भईसकेको र अर्को टोली बनाएर ३ नं. को पनि गणना थाल्ने तयारी भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०७९ १०:२९ बुधबार