राजनीति

दलीय स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरूले व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर विराटनगरको विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन्। मोरङ व्यापार संघले मंगलबार नव निर्वाचित जनप्रतिनिधिको स्वागतमा आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका नव निर्वाचित जवनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।  

कार्यक्रमलाई सम्बोधन गर्दै  विराटतनगर महानगरपालिकका मेयर नागेश कोइरालाले निर्वाचित हुनुभन्दा पहिले जुन पार्टीबाट उमेदवार बनेपनि अब, सबै जन निर्वाचित प्रतिनिधिहरू एकजुट भएर विराटनगरको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले विराटनगरको विकासका लागि सार्वजनिक निजी साझेदारी मार्फत विराटनगरका उद्योगी व्यवसायीसँग सहकार्यगरेर महानगरपालिका अघि बढ्न तत्पर रहेको बताए।

कोइरालाले भ्रष्टाचार रहित विराटनगर बनाउने, करको दायरा घटाउने, महानगरको छुट्टै अस्पताल निर्माण गर्ने, खानेपानी, शिक्षा, औद्योगिक प्रदर्शनी केन्द्र निर्माणलगायतका काम अघि बढाइने स्पष्ट पारे। उनले विराटनगरमा विशेष आर्थिक क्षेत्र निर्माण गर्नका लागि महानगरपालिकाले पहल गर्ने बताए। विराटनगरमा तारको जंजाल रहेकाले यस्तो जन्जालको व्यवस्थापन अण्डरग्राउण्ड गर्न महानगरपालिकाले पहल गर्ने कोइरालाले बताए। उनले भने, ‘तारको जञ्जालले विराटनगर महानगरपालिका कुरुप भएकाले तारलाई अण्डरग्राउण्ड गर्न महानगरपालिकाले संघ सरकारसँग पहल गर्नेछ।’  

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीले उद्योगी व्यवसायीले उठाएका मुद्दाहरू विराटनगरको हितमा रहेको बताइन्। उनले विराटनगरको हितको काममा सबै जनप्रतिनिधि एकजुट भएर अघि बढ्न तत्पर रहेको स्पष्ट पारिन्। विराटनर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले सबै जनप्रतिनिधिको एउटै उद्देश्य महानगरपालिकाको विकास गरेकाले सबैको साझा उद्देश्य प्राप्तिका लागि मिलेर अघि बढ्ने बताए।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले विराटनगरमा थुप्रै समस्याहरू रहेको र ती समस्या समाधान गर्न महानगरले पहल थाल्न सुझाव दिए। उनले विराटनगरको गिरेको शाख फर्काउने काममा ध्यान दिन महानगरपालिकाका जनप्रतिनिधिहरूलाई आग्रह गरे।  

कार्यक्रममा मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठी, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, पूर्व अध्यक्ष ताराचन्द्र खेतान लगायतले विराटनगरको विकास र समृद्धिका लागि ठोस काम गरेर देखाउन सुझाव दिए। कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललगायतका पदाधिकारीहरूले नव निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षलगायतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए।

प्रकाशित: १० जेष्ठ २०७९ १३:२५ मंगलबार