राजनीति

खोटाङका जनप्रतिनिधिद्वारा चामलिङ भाषामा शपथ

मेयर बिमला राईद्वारा मातृभाषा चामलिङमा शपथ लिँदै जनप्रतिनिधि। तस्बिरः महेश्वर

वैशाख ३० गते सम्पन्न स्थानीयतहमा निर्वाचित खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका राई समुदायका जनप्रतिनिधिले मातृ भाषा चामलिङमा शपथग्रहण गरेका छन्। नगरपालिकाका बिभिन्न वडाका ९ जना जनप्रतिनिधिले चामलिङ भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन्।  

चामलिङ समुदायका २ वडाध्यक्ष तथा ७ सदस्यले मातृ भाषामा शपथ लिएका हुन्। उनीहरुले नवनिर्वाचित मेयर बिमला राईबाट पद तथा गोपनीयताको शपथ लिँदा आफ्नो मातृ भाषा चामलिङ प्रयोग गरेका थिए।  

यसरी मातृ भाषामा शपथ लिनेमा हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारका वडाध्यक्ष गण राई, ९ सल्लेका वडाध्यक्ष काशीराज राई, ५ नं. वडा दुर्छिमका वडा सदस्य गमिता राई, ७ नं. व डा महादेवथानका सदस्य दलीमाया राई, दिक्षा राई रहेका छन्। त्यसैगरी हलेसी तुवाचुङ नगरपालिका ८ धितुङका वडा सदस्य कल्पना राई, मंगलटारका सदस्य टंकहादुर राई र सल्लेका वडा सदस्य दिनेश राईले पनि मातृ भाषा चामलिङामा पद तथा गोपनीयताको शपथ लिएको नगरपालिकाले जनाएको छ।  

नवनिर्वाचित वडा सदस्य गमिताको संयोजनमा चामलिङ राई समुदायका जनप्रतिनिधिले मातृ भाषामा शपथ लिएका हुन्। मातृ भाषाको सम्मान र पहिचानका लागि पद तथा गोपनीयताको शपथ लिँदा आफ्नो चामलिङ भाषा प्रयोग गरेको सदस्य गमिताले बताईन्। उनका अनुसार मेयर राईले नेपाली भाषामा शपथ खुवाए पनि उनीहरुले चामलिङ भाषामा शपथ लिएका थिए।  

जम्मा ११ वटा वडा रहेको हलेसी तुवाचुङले आफ्नो लेटरहेडमा यसअघि नै चामलिङ राई भाषा प्रयोगमा ल्याइसकेको छ। यस्तै, वाम्बुले राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडा र २ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्यता रहेको ३ नंं. च्यास्मीटारमा तिलुङ भाषालाई सरकारी कामकाजको मान्यता दिइसकिएको छ।

चामलिङ राई खाम्बातिमले यसअघि नै चामलिङ भाषी जनप्रतिनिधिले मातृ भाषामा शपथ लिन चाहे लिनसक्ने गरी शपथ ग्रहणको ढाँचा तयार गरेर सार्वजनिक गरेको थियो। खाम्बातिमका अध्यक्ष युवराज राईले चुनाव सम्पन्न भएलगत्तै शपथको ढाँचा बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उनले सकेसम्म चामलिङ भाषी जनप्रतिनिधिले मातृ भाषामा शपथ खान पनि सञ्जालमार्फत आग्रह गरेका थिए।

प्रकाशित: १० जेष्ठ २०७९ ०८:५८ मंगलबार