ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखको चर्चामा रहेका नेकपा माओवादी केन्द्रका युवा नेता मिङ्माडण्डु शेर्पा फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्यमा सर्वसम्मत चयन भएका छन्। उनी माओवादी केन्द्रबाट कार्यपालिका सदस्य चुनिँदा दलित वा अल्पसंख्यकबाट फक्ताङलुङ गाउँ कार्यपालिकामा जाने दुई पदमा नेपाली काँग्रेसका सेराप शेर्पा समेत निर्विरोध रुपमा कार्यपालिका सदस्य बनेका छन्।
कार्यपालिका सदस्य स्वतः नगर वा गाउँसभा सदस्य समेत हुने ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश प्रकाश राउतले जानकारी दिए। यसो भएमा शेर्पालाई जिल्ला समन्वय समितिमा उम्मेदवारी दिन बाटो खुल्ने छ। नेपालको संविधान २०७२ को धारा २२० को उपधारा (४) अनुसार सम्वन्धित जिल्ला भित्रको गाउँसभा वा नगरसभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्यको उम्मेदवार बन्न योग्य हुने छ र जिल्ला समन्वय समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित भएमा त्यस्तो व्यक्तिको गाउँ वा नगरसभा सदस्य पद स्वतःरिक्त हुने छ भनी लेखिएको छ।
समन्वय समितिको प्रमुखका लागि माओवादी केन्द्रकै गंगाराम शंकर पनि आकाँक्षी छन्। शंकरले फुङलिङ नगर कार्यपालिका सदस्यका लागि उम्मेदवारी दिएका छन्। बुधबार फुङलिङ नगर कार्यपालिकाको ८ पदका लागि निर्वाचन हुने कार्यतालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरिसकेको छ।
नगर कार्यपालिका निर्वाचनका लागि ५७ मतदाता रहेका छन्। जसमा एमालेको २४, काँग्रेसको २२, माओवादी केन्द्रको १० र नेकपा एसको १ मत रहेको छ। गठबन्धन दलको बहुमत यताउता नभए शंकरसहित कार्यपालिका सदस्यमा गठबन्धन पक्षले नतिजा आफ्नो पक्षमा पार्ने अवस्था छ।
प्रकाशित: १० जेष्ठ २०७९ ०८:०४ मंगलबार