राजनीति

६५ वर्षमै वृद्ध भत्ता चुनौतीपूर्णः डा. कोइराला

विराटनगर–६ स्थित व्रह्मपुरामा जेरिएटिक अस्पतालको शिलान्यास गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला। तस्बिरः विनोद/नागरिक

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ६५ वर्षमै वृद्ध भत्ता दिनु चुनौतीपूर्ण रहेको बताएका छन्। सोमबार विराटनगरमा जेरिएटिक(जेष्ठ नागरिक) अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारीको ३० प्रतिशत तलव बढाउने निर्णय र ६५ वर्षमै वृद्ध भत्ता दिने निर्णय आर्थिक हिसावले चुनौतीपूर्ण रहेको बताएका हुन्।

कोइरालाले देशको आर्थिक अवस्था बिग्रदै गएको अवस्थामा कर्मचारीको तलव ३० प्रतिशत बढाउने र ६५ वर्षमै वृद्ध भत्ता वितरण गर्ने निर्णय सरकारका लागि निक्कै चुनौतीपूर्ण रहेको स्पष्ट पारे। कोइरालाले भने, ‘देश आर्थिक रुपमा जर्जर बन्दै गएको अवस्थामा अर्थतन्त्रमै भार पर्नेगरी कर्मचारीको तलव ३० प्रतिशत बढाउनु र ६५ वर्षमै वृद्ध भत्ता दिनु सरकारका लागि चुनौतीपूर्ण हुने छ।’

कोइरालाले मूल्य वृद्धि सर्वसाधारण जनताले धान्नै नसक्ने सीमामा पुगेको बताए। उनले धनाढ्यहरूलाई मूल्य वृद्धिले असर नगरेपनि सीमाङ्कृत जनतालाई धान्न चर्को भइसकेको बताए। कोइरालाले जवाफदेहिता र परदर्शीता नहुँदा देशमा भ्रष्टाचार चरम सीमामा पुगेको बताए। उनले भर्खरै निर्वाचन जितेका स्थानीय तहका प्रमुखहरूलाई भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अस्पताल निर्माणका लागि विराटेश्वर वृद्धाश्रमले गरेको प्रयासलाई सार्थक बनाउन विराटनगर महानगरपालिका सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताए। उनले जेष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा सबै किसिमको सेवा र सुविधासहितका अस्पताल विराटनगरमा निर्माण गर्न महानगरपालिका तयार रहेको स्पष्ट पारे।

विराटेश्वर वृद्धाश्रमका संस्थापक जगत अर्यालले ५ रुपैयाँ संकलन अभियानबाट वृद्धाश्रम तयार गर्न सफल भएको अनुभव आफूसँग रहेकाले विराटनगरमा जेष्ठ नागरिकका सबैखाले स्वास्थ्यको उपचार गर्न सकिने (जेरिएटिक) अस्पताल पनि चाँडै निर्माण हुने बताए।

बर्खा सकिएलगत्तै अस्पतालको भौतिक पूर्वाधार निर्माण सुरू गरिने अर्यालले जानकारी दिए। सुरूमा १५ बेडको अस्पताल निर्माण गरिने र आवश्यकता अनुसार बेड र सेवा विस्तार गर्दै लैजाने योजना रहेको बताए। स्व. शंकर अधिकारीको स्मृतिमा उनका परिवारले विराटेश्वर वृद्धाश्रमलाई विराटनगर–६ स्थित व्रह्मपुरामा प्रदान गरेको एक विघा जग्गामा अस्पताल निर्माण सुरू भएको र चाँडै अस्पताल निर्माण पूरा गर्न आफू तयार रहेको अर्यालले बताए।

प्रकाशित: ९ जेष्ठ २०७९ ११:५७ सोमबार