राजनीति

उदयपुरमा सीमान्तकृत समुदायका हायु वडाध्यक्ष निर्वाचित

उदयपुरको कटारी नगरपालिका ११ का नवनिर्वाचित वडाध्यक्ष अनन्त हायु।

उदयपुरको कटारी नगरपालिकामा सीमान्तकृत समुदायका एक युवा वडाध्यक्ष विजयी भएका छन्।

कटारी नगरपालिका ११ गहुँबारीका अनन्त हायु नेकपा (एमाले)को तर्फबाट वडाध्यक्ष विजयी भएका हुन्। ३८ वर्षीय हायु झिनो मतान्त्ररले नेकपा गठबन्धन उम्मेदवार (माओवादी केन्द्र)का दीपक बुढाक्षेत्रीलाई हराउँदै वडाध्यक्ष विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हायुले ४ सय १५ मत पाएर वडाध्यक्ष जित्दा बुढाक्षेत्रीलाई ४ सय १२ मत परेको निर्वाचन अधिकृत राजकुमार राउतले बताए। राउतका अनुसार जम्मा १ हजार ८ सय ८० मत खसेको वडामा अन्य दलले नगन्य मत पाएका छन् भने धेरैजासो मत बदर भएको छ।

स्थानीयका अनुसार सो समुदायको एक मात्र प्रवेशिका उत्तीर्ण हायु कृषि प्राविधिकसमेत हुन्। एमालेको जिल्ला सचिवालय सदस्यसमेत रहेका हायु पार्टीका कटारी नगर कमिटी इञ्चार्जसमेत हुन्। उनको वडामा गठबन्धनका तर्फबाट खुल्ला सदस्यमा कांग्रेसका थीरबहादुर सुनुवारबाहेक बाँकी ३ सदस्य एमालेकै कब्जामा परेको छ।

अर्को खुल्ला सदस्यमा एमालेबाटै कृष्णबहादुर रानामगर, महिला सदस्यमा बालकुमारी राउत र दलित महिला सदस्यमा कल्पना नेपाली जितेका छन्। अहिलेसम्मको नतिजामा उदयपुरका ८ वटा स्थानीयतहका ७५ वडामध्ये सीमान्तकृत समुदायबाट जननिर्वाचित वडाध्यक्ष चुनिएका हायु एक मात्र भएको निर्वाचन कार्यालयले जनाएको छ।

यसैबीच कटारी नगरपालिकामा एमालेको अग्रता कायम छ। शनिबार मध्यान्हको परिणाम अनुसार गठबन्धनका मेयर उम्मेदवार नेपाली कांग्रेसका राजेशचन्द्र श्रेष्ठभन्दा एमाले उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ १ सय १९ मतान्तरले अगाडि छन्। एमालेलाई २ हजार ९ सय ९५ मत परिरहँदा कांग्रेसलाई २ हजार ८ सय ७६ मत परिरहेको छ।

उपमेयरमा भने एमाले निकै फराकिलो अन्तरले अगाडि छ। एमालेकी मीना खड्काले ३ हजार १ सय ४६ मत पाइरहँदा गठबन्धन उम्मेदवार माओवादीका बिनोद कटुवालले २ हजार ४ सय ३१ मत पाइरहेका छन्। निर्वाचन अधिकृत राउतका अनुसार २५ हजार ७ सय ४३ मत खसेको कटारी नगरपालिकाका हालसम्म १४, १३, १२, ११, १०, ९, ८ र ७ को परिणाम आइसकेको छ।

अहिले ६ र ५ नंं.को गणना भइरहेको छ। अब बजारक्षेत्र प्रवेश गरेको हुनाले मतगणना सक्न अझै निकै समय लाग्ने अनुमान गरिएको छ। वडा नं. ४ र ३ बजार क्षेत्र भएको र २ र १ पनि बजारोन्मुख वडा भएकाले बाक्लो आवादीले धेरै मत त्यही क्षेत्रभित्र रहेको छ।

प्रकाशित: ७ जेष्ठ २०७९ १०:२६ शनिबार

उदयपुरको कटारी नगरपालिका