राजनीति

उपत्यकाका चार पालिकाको परिणाम आउन बाँकी

स्थानीय तह निर्वाचनको मतगणनाअनुसार काठमाडौं र ललितपुर महानगरपालिकाबाहेक अन्य स्थानीय तहको मतगणना अन्तिम चरणमा पुगेको छ। शनिबारसम्म दुई महानगरपालिका बाहेक काठमाडौं उपत्यका तीनै जिल्लाका स्थानीय तहको परिणाम आइसक्ने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पछिल्लो परिणामअनुसार काठमाडौंको कागेश्वरी मनोहरामा नगरपालिका प्रमुखमा कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार कांग्रेसका कार्कीले ११ हजार ३२२ मत ल्याएर विजयी भएको जानकारी निर्वाचन अधिकृत शारदा राउतले दिएकी छन्। कार्कीका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण ढुंगानाले आठ हजार २६३ मत प्राप्त गरेका थिए।

त्यस्तै उपप्रमुखमा एमालेकी शान्ता थापा नौ हजार ९७५ मत ल्याएर निर्वाचित भएकी छन्। कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गत वडा नं १ मा मुकुन्दप्रसाद गजुरेल, २ मा सुरज खड्का, ३ मा राममणि पुडासैनी, ४ मा विजय श्रेष्ठ, ५ मा शंकर पाण्डे, ६ मा प्रकाश फुयाल, ७ मा भीमसेन थापा, ८ मा हरिभक्त पुडासैनी र वडा नं ९ मा अनिल थापा वडाध्यक्षमा निर्वाचित भएका छन्।

चन्द्रागिरि नगरपालिकाअन्तर्गत वडा नं १ मा हरिश्याम राना मगर, २ मा भाइकृष्ण तामाङ, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्की, ५ मा राजेन्द्र महर्जन, ६ मा सञ्जय सिग्देल, ७ शम्भुकुमार केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी, १० मा शिवकुमार महर्जन, ११ मा नरेन्द्रराज श्रेष्ठ, १२ मा न्हुच्छेबहादुर महर्जन, १३ मा श्रीकृष्ण खत्री, १४ मा राजभाइ महर्जन र १५ मा घनश्याम लुइटेल वडाध्यक्षमा निर्वाचित भएका छन्।

वडा नं ५ को मतगणना भइरहँदा नागार्जुन नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिइरहेका छन्। निर्वाचन अधिकृत पार्वती अर्यालका अनुसार नागार्जुन नगर प्रमुखमा कांग्रेसका उम्मेदवार बस्नेतले नौ हजार ६५३ मत ल्याइरहँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दनहरि गौतमले आठ हजार ५५५ मत प्राप्त गरेका छन्।

 नागार्जुन नगरपालिकाअन्तर्गत वडा नंं १ मा रामेश्वर लामा, २ मा थुमराज केसी, ३ मा उमेश लामा, ४ मा लक्ष्मीराम शर्मा, ६ मा देवेन्द्रराज गिरी, ७ मा शैलेन्द्र लामा, ८ मा सुरजकुमार पोखरेल, ९ रामकृष्ण भट्टराई र १० मा सुन्दरबहादुर केसी वडाध्यक्षमा निर्वाचित भइसकेका छन्। त्यस्तै, वडा नम्बर २९ को वडाध्यक्षमा कुश ढकाल निर्वाचित भएका छन्। त्यस्तै एमालेले काठमाडौंको बुढानीलकण्ठ र टोखा नगरपालिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले शंखरापुर नगरपालिकाको प्रमुखमा विजयी भइसकेका छन्।

बुढानीलकण्ठ नगरपालिकाको प्रमुखमा एमालेका मीठाराम अधिकारी र टोखा नगरपालिकाको प्रमुखमा एमालेका प्रकाश अधिकारी, गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा कांग्रेसका दीपककुमार रिसाल, शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित, तार्केश्वर नगरपालिकामा कांग्रेसका कृष्णहरि महर्जन, कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी र दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत निर्वाचित भइसकेका छन्।

काठमाडौं महानगरपालिकाअन्तर्गत ३२ वडामध्ये आठवटा वडाको मतगणना सकिँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन्। उनले २८ हजार ८८२ मत ल्याइरहँदा एमालेका केशव स्थापितले १५ हजार ३१३ र कांग्रेसकी सिर्जना सिंहले १४ हजार ७९८ मत प्राप्त गरेका छन्।

काठमाडौं महानगरअन्तर्गत वडा नं १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन, ५ मा वीरेन्द्र प्रजापती, २८ मा भाइराम खड्की, ३० मा दलबहादुर कार्की र वडा नं ३२ मा नवराज पराजुली वडाध्यक्षमा निर्वाचित भइसकेका छन्।

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले अग्रता लिइरहेका छन्। पाँच पालिका रहेको ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेका हरिगोविन्द श्रेष्ठले अग्रता लिइरहेका छन् भने उपप्रमुखमा एमालेकी विना सुवेदीले अग्रता लिइरहेकी छन्।

महालक्ष्मी नगरपालिकाअन्तर्गत वडा नं १ मा छिरिङ लामा, २ मा धुव्र खत्री, ३ मा कुवेर केसी, ४ मा अमृत खत्री, ५ मा कपिल केसी, ७ मा बाबुराजा महर्जन, ८ मा विश्वराज श्रेष्ठ, ९ मा जयकृष्ण बोगटी र १० मा विजय लामा वडाध्यक्षमा निर्वाचित भइसकेका छन्। यसअघि ललितपुर महानगरअन्तर्गत महांकाल गाउँपालिकामा कांग्रेसका गणेश केसी, बागमती गाउँपालिकामा कांग्रेसका वीरबहादुर लोप्चन र कोन्ज्योसोम गाउँपालिकामा एमालेका कृष्णमान लामा निर्वाचित भइसकेका थिए।

गोदावरी नगरपालिकामा कांग्रेसका गजेन्द्र महर्जन नगर प्रमुख र उपप्रमुखमा मुना अधिकारी निर्वाचित भइसकेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखमा कांग्रेसका जीवन खत्री निर्वाचित भएका छन् भने उपप्रमुखमा रमेश बुढाथोकी निर्वाचित भएका छन्।

यसअघि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकामा एमालेका बासुदेव थापा र भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापति निर्वाचित भइसकेका छन्।

प्रकाशित: ७ जेष्ठ २०७९ ०१:४० शनिबार

स्थानीय तह निर्वाचन